ङादी ग्रुप पावरको लाभांश घोषणा

काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) सहित कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

घोषित लाभांश पारित गरी वितरणका लागि कम्पनीले मंसिर २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा हुनेछ ।

साधारण सभाले लाभांश प्रस्ताव पारित गर्नेबाहेक, बोनस सेयर वितरणपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ । साथै, कम्पनीले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्नेछ ।

चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालकहरूको नियुक्ति अनुमोदन तथा समितिबाट भएका निर्णय र कार्य अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Share News