काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा पौने २ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । चालु आवको असोज मसान्तसम्ममा नेप्सेमा १ अर्ब ८३ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
साथै, नेप्सेमा १२ अर्ब ७८ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ), २ अर्ब ४८ करोड बराबरको हकप्रद सेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल १८ अर्ब २ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
नेप्सेमा असोज मसान्तमा सूचीकृत ८ अर्ब ९२ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ७९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । सूचीकृत कम्पनीहरूको संख्या २७६ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५३.५ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा २.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब १८ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ९९ करोड ४७ लाख रुपैयाँ बराबरको साधारण सेयर गरी कुल १० अर्ब ९५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।