अध्यक्ष ओली भन्छन्– प्रतिनिधिसभा पुनःस्थापनाका लागि एमाले अदालत जान्छ

फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित आफ्नो पार्टी सर्वोच्च अदालतमा जाने घोषणा गरेका छन् । 

उनले यो कदम संविधानको रक्षा र लोकतान्त्रिक अभ्यासको पुनःस्थापनाका लागि आवश्यक भएको बताए ।

मंगलबार च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको विघटित प्रतिनिधिसभाका एमाले सांसदहरूको बैठकलाई सम्बोधन गर्दै ओलीले हालै भएको प्रतिनिधिसभा विघटन पूर्ण रूपमा असंवैधानिक भएको दाबी गरेका हुन् । 

उनले संविधानका प्रावधानहरू पटक–पटक अध्ययन गरेको बताउँदै प्रतिनिधिसभा विघटनका लागि संविधानले कुनै ठाउँ नदिएको बताए ।

ओलीले भने, ‘यो सरकारले आफूलाई लोकतान्त्रिक र संवैधानिक भनेर आँट गर्न सक्ने अवस्था छैन । न शासन सञ्चालनमा पारदर्शिता छ, न त वैधानिकता नै ।’

उनका अनुसार देशमा फैलिएको अराजकता, आगजनी, तोडफोड र लुटपाटजस्ता गतिविधिलाई सरकारले क्रान्तिको उपमा दिएको छ, जुन लोकतान्त्रिक मूल्य–मान्यताका विरुद्ध रहेको छ ।

Share News