फेरि बन्द भयो चन्द्रागिरि केबलकार, अस्ट्रियाबाट पाटपुर्जा आयात गरिँदै

काठमाडौं । जेनजी आन्दोलनले बन्द भएर सञ्चालनमा आएको चन्द्रागिरि केबलबार पुनः बन्द भएको छ । कम्पनीका अनुसार सञ्चालन प्रणाली (प्यानल बोर्ड) मा समस्या देखिएपछि सेवा अनिश्चितकालका लागि स्थगित गरिएको हो । 

गत भदौ २४ गते केबलकारमा तोडफोड भएपछि केबलकार बन्द भएको थियो । केबलकारमा पुर्ननिर्माण भएर कात्तिक २२ र २३ गते सञ्चालनमा आएको थियो । अहिले फेरि बन्द भएको छ । पुर्ननिर्माणपछि दुई दिनमात्रै सञ्चालनमा आएको केबलकार त्यसपछि बन्द अवस्थामा छ । 

कम्पनीका सचिव झलक शर्माले प्यानल बोर्डमा धुलो जम्मा भई प्रणालीमा समस्या आएको र यसलाई दिगो समाधान गर्न अस्ट्रियाबाट आवश्यक पार्टपुर्जा मगाइएको जानकारी दिए । 

शर्माले प्यानल बोर्डमा देखिएको समस्याबारे बताउँदै विकासन्युजसँग भने, ‘केबलकारको प्यानल बोर्डमा समस्या देखिएकाले यो सधैंका लागि समस्या नहोस् भनेर हामीले त्यसलाई परिवर्तन गर्न लागेका छौं । यो विशेषगरी प्यानल बोर्डको साइडमा डस्ट (धूलो) जम्मा भई केही सिस्टममा परिवर्तन गर्नुपर्ने देखिएको हो ।’

उनका अनुसार पार्टपुर्जा आइसकेपछि करिब एक साताभित्र केबलकार पुनः सञ्चालनमा आउनेछ । गुणस्तरीय र सुरक्षित सेवा सुनिश्चित गर्नका लागि यो मर्मतसम्भार आवश्यक रहेको उनको भनाइ छ । 

‘हामी त्यो सामान आयातको प्रक्रिया अगाडि बढाएका छौं, सामान आएको समयको करिब एक हप्ताभित्रमा केबलकार पुनः सञ्चालनमा ल्याउँछ,’ शर्माले भने । 

गुणस्तरीय र सुरक्षित सेवा प्रदान गर्नका लागि यो मर्मतसम्भार आवश्यक रहेको कम्पनीको भनाइ छ । 

जेनजी आन्दोलनको झट्का

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले केबलकारको बटम स्टेसनमा तोडफोड र आगजनी हुँदा रिसोर्टसहितका सेवाहरू करिब २ महिनासम्म ठप्प भएका थिए । यो घटनाले कम्पनीलाई ठूलो आर्थिक नोक्सानी समेत भएको छ । 

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५५ लाख रुपैयाँ खुद नाफामा रहेको कम्पनीको चालु आर्थिक वर्षको सोही अवधिमा १ करोड २४ लाख रुपैयाँ नोक्सानीमा गएको छ । कुल आम्दानी पनि १९ करोड ५८ लाख रुपैयाँबाट घटेर १३ करोड ८७ लाख रुपैयाँमा झरेको कम्पनीले जनाएको छ । 
 

Share News