गुहेश्वरी–गोकर्णेश्वर खण्ड सफाइ गरिँदै, बागमती किनारका अलपत्र सवारी हटाइँदै

काठमाडौं । बागमती नदीको गुहेश्वरी-गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका ५ जम्बुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारी साधन तत्काल हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिएका थिए । 

जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा सिधै मिसिएको छ । ढल फुटेका कारण सडकमा पनि क्षति पुगेको छ । ढल मर्मत पनि सुरु गरिएको छ । साथै,  गुहेश्वरीबाट माथिल्लो तटीय क्षेत्रमा नदी थ्रुपिएको बालुवा तथा फोहोर पनि हटाइने भएको छ । 

यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आवश्यक तयारी गरिरहेको छ । 
 

Share News