रास्वपामा राजनीतिक भूकम्प, अब्बल ठानिएका नेताले नै किन छोड्दैछन् साथ ?

तोशिमाले नजिककाहरूलाई सुनाइन् पार्टी छोड्ने निर्णय

काठमाडौं । २०७९ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली राजनीतिमा नयाँ शक्ति, नयाँ सम्भावना र पूराना राजनीतिक दलको विकल्पका रूपमा उदाएको थियो । पत्रकारितामा देखाएको खरो प्रस्तुति तथा लोकप्रिय छविको आधारमा रवि लामिछानेले नेतृत्व गरेको उक्त पार्टी पहिलो सहभागितामै प्रतिनिधि सभा चुनावमा चौंथो ठूलो शक्ति बन्न पुग्यो ।

नेपालजस्तो अस्थिर र संघीय संरचनामा राजनीतिक विकल्पको अभाव रहेको अवस्थामा रास्वपाले देखाएको आकस्मिक उभारले ठूला दलहरूमा समेत ठूलो हलचल ल्यायो । तर, पछिल्लो घटनाक्रमले रास्वपाको त्यो चमकदार उदय आज गम्भीर संकट र विश्वासघातको दलदलमा डुबिरहेको चित्र बनिसकेको छ । विशेषगरी सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा जेल परेपछि पनि पार्टीमा सुरु भएको रविकै नेतृत्वको केन्द्रीकरणले निम्त्याएको आन्तरिक असन्तुष्टि र गुटगत द्वन्द्वले अहिले आएर बहिर्गमनको पहिरोको रूप लिएको राजनीतिक विश्लेषकहरूले दाबी गरेका छन् ।

पार्टीभित्रका शीर्ष तहदेखि सामान्य तहका कार्यकर्तासम्म पार्टी छोड्ने लहर एकपछि अर्को थपिँदै जाँदा रास्वपाको अस्तित्वमै प्रश्न उठ्न थालेको छ । सबै छोड्न तयार छु । तर, पार्टी छोड्दिनँ भन्ने संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई बर्खास्त गरेपछि पार्टीमा जान थालेको पहिरोको आकार बढिरहेको देखिन्छ ।

पार्टीभित्रको निर्णय प्रक्रिया, कार्यशैली, पारदर्शिता र सभापति लामिछानेको व्यवहारका विषयमा निरन्तर प्रश्न गर्दै आएका ढकालले बारम्बार आफूले पार्टी नछोड्ने स्पष्ट पार्द आएका थिए । तर, नेतृत्वसँगको बढ्दो टकराव, आरोप–प्रत्यारोप र गुटगत किचलो चर्किँदै जाँदा अन्ततः उनी पार्टीबाट बहिर्गमन हुन बाध्य भए ।

पार्टीबाट निकालिएसँगै ढकालले नेतृत्वमाथि कडा आरोप लगाउँदै सार्वजनिक रूपमा प्रश्न उठाए । मुकुलको निस्कासनलाई धेरैले रास्वपाको ठूलो संरचनागत दरारका रूपमा व्याख्या गरिरहेका छन् । 

उनै मुकुलले खनेको डोबमा पार्टी सचिवसमेत रहेकी सुमना श्रेष्ठ पनि लागिन् । उनको राजीनामासँगै नयाँ राजनीतिको आशा धराशायी भएको बताउँछन् राजनीतिक विश्लेषक अर्जुन अर्याल ।

त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापकसमेत रहेका अर्यालका अनुसार रास्वपाको उदयपछि सर्वाधिक आशा र अपेक्षा गरिने नेतामा श्रेष्ठ पनि थिइन् । नीति–निर्माणमा सक्रिय, भद्र छवि र संस्थागत सुधारका एजेन्डामा अडिग नेताकारूपमा देखिने सुमनाले पार्टीभित्रैका अपारदर्शिता, नीतिगत असहमतिहरू र एक व्यक्ति केन्द्रित निर्णयप्रक्रियासँग असन्तुष्टि व्यक्त गर्दै पार्टी परित्याग गरिन् ।

सुमनाको राजीनामाले विश्लेषकहरूले रास्वपाको नयाँ राजनीतिक ब्रान्डको नैतिक पराजयका रूपमा व्याख्या गरिरहेका छन् । 

सदाचार र कडा छविका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेल पनि पार्टी छोड्ने थप महत्त्वपूर्ण पात्र बने । बारा-२ बाट उम्मेदवारी दिएर चुनावी मैदानामा होमिएका खरेलले पार्टीको आन्तरिक कार्यशैली, प्रचार–प्रसारको गैरव्यावसायिकता र नेतृत्व–केन्द्रीयताको विरोध गर्दै बाहिरिएको बताएका थिए ।

nullसभापति लामिछानेसँग उपसभापति डा. स्वर्णिम वाग्ले र रमेश खरेल । 

रास्वपामा प्रवेश गर्ने धेरैले खरेललाई शक्तिशाली अनुशासन र सदाचारको प्रतिनिधिका रूपमा हेरेका थिए । त्यसैले उनका आरोप र असन्तुष्टि सामान्य मान्न नहुने अर्का राजनीतिशास्त्री नीलकण्ठ तिवारी बताउँछन् । 

यस्तै, सबैभन्दा अनपेक्षित बहिर्गमन भने सन्तोष परियारको रह्यो । न गुनासो, न कुनै सार्वजनिक अभिव्यक्ति, न कुनै पूर्वतयारीको छनक कसैलाई जानकारी नै नदिई उनले चुपचाप पार्टी परित्याग गरे ।

उनको यो कदमले सभापति लामिछाने मात्र होइन, शीर्ष नेता तथा कार्यकर्ताहरू समेत चकित पारेको बताइन्छ । रास्वपाका प्रवक्ता मनिष झा रास्वपालाई कम्युनिष्ट बनाउन उद्दत भएकाहरू आफ्नो मिसनमा सफल नभएको बताउँछन् । 

उनै झा परियारको बहिर्गमनले पार्टीलाई क्षति भएको समेत स्वीकार गर्दछन् । झाका अनुसार परियारको बहिर्गमन पार्टीको वामपन्थीकरणको बहिर्गमन हाे । झाले भने, ‘अब रास्वपा पूर्ण लोकतान्त्रिक दल रह्यो।’

परियार पार्टीभित्र रविको नजिक मानिन्थे । तर, नेतृत्व संकट र निर्णय प्रक्रियामा आफ्नो भूमिका कमजोर हुँदै गएको महसुसका कारण उनी निराश बनेको बुझिन्छ ।

विश्लेषक अर्यालका अनुसार परियारको मौन बहिर्गमनले पार्टी भित्रको वातावरण पार्टी बाहिरभन्दा झनै बिग्रिएको छ भन्ने संकेत दिएको मान्न सकिन्छ । चिकित्सक तथा सांसदका रूपमा लोकप्रियता कमाएकी तोसिमा कार्की पनि अन्ततः पार्टी छाड्ने सूचीमा थपिने प्रक्रियामा रहेको स्रोतको दाबी छ । 

तोसिमा कार्कीले आफ्नो सर्कलमा बाहिरिने घोषणा गरेको बताइन्छ । उनको बहिर्गमनले रास्वपामा फेरी अर्को संकट निम्त्याउने निश्चित छ । अहिलेसम्म त समानुपातिकमा समेटिएकाहरूको बर्हिगमन भनिँदै आइएको छ । 

कार्कीले संगठनभित्रको अव्यवस्था, नीति र नेतृत्वको अस्पष्ट दिशाबोध तथा निरन्तर बढ्दै गएको अविश्वासका कारण छुट्टिने निर्णय गरेको बताइएको छ । यदि उनी पनि रास्वपाबाट बाहिरिएमा रास्वपामा विद्यमान शैक्षिक पेशागत युवा वर्गको प्रतिनिधित्व कमजोर हुँदै जाने टिप्पणी विश्लेषकहरुको छ । 

रास्वपाको स्थापनाकालदेखि नै रास्वपाप्रति अत्यन्तै उदार देखिएका घण्टी घरका घरबेटी भरतमणि देवकोटासमेत बाहिरिएपछि अहिले पार्टी थप संकटमा परेको छ । रास्वपाको केन्द्रीय कार्यालय रहेको भवनका घरबेटी देवकोटा समेतले पार्टीको साधारण सदस्यता त्यागेपछि यो बहिर्गमन केवल नेतासम्म सीमित नभई आम सदस्यस्तरमा पनि फैलिएको पुष्टि भएको छ । 

उनको बाहिरिने निर्णयले पार्टीभित्रको असन्तोष अब जरा–जरामा फैलिएको र असुविधा महसुस गर्ने सामान्य कार्यकर्तामात्र होइन, नेतृत्वसँग नजिक रहेका व्यक्तिहरू पनि निराश हुँदै गएको संकेत गरेको विश्लेषक तिवारीको दाबी छ ।

रास्वपाको हालको संकटको मूल कारण धेरैले सभापति लामिछाने सहकारी ठगी मुद्दामा जेल परेपछि नेतृत्व शून्यता हुँदा सुरु भएको अस्थिरतालाई देखाएका छन् । लामिछानेको अनुपस्थितिमा निर्णयप्रक्रिया थन्किनु, समन्वय कमजोर हुनु र गुटगत असन्तुष्टि बढ्नु नेतृत्वले पार्टी छोड्नुका तत्कालीन कारण रहेको राजनीतिशास्त्री तिवारीको बुझाइ छ । उनका अनुसार दल दलजस्तो नभएर एकल स्वामित्वको निजी कम्पनिजस्तो भएपछि दलमा संस्थागत स्थिरता हुँदैन, यसले पनि नेताहरूलाई पार्टी छोड्न अभिप्रेरित गरेको बताउँछन् तिवारी।

एकातिर नेतृत्व विभिन्न आरोपमा जेलमा रहनु र अर्कोतिर पार्टीलाई पुनर्गठन गर्नुको साटो नेतृत्वको महिमा मण्डनमै केही मान्छे लाग्नुले पनि बहिर्गमनको पहिरो पैदा गरेको धेरै नेताहरूको भनाइ छ ।

आजको स्थितिमा रास्वपाले सामना गरिरहेको संकट केवल केही नेताहरूको विद्रोह मात्र होइन, पार्टी संरचना, नेतृत्वशैली र संगठनको दर्शनमै रहेको गम्भीर कमजोरीको परिणाम रहेको राजनीतिका विश्लेषक अर्याल बताउँछन् ।

अर्यालको मूल्यांकनमा व्यक्ति–केन्द्रित नेतृत्वले संस्थागत संरचना विकास हुन दिएन । नयाँ राजनीतिको आदर्श व्यवहारमा लागू नहुँदा निराशा बढ्यो । र पार्टीमा पहिरो गयो ।

विवाद र बलजफ्ती निर्णयहरूले गम्भीर असन्तुष्टि जन्माउँदा अहिलेको अवस्था आएको अर्याल बताउँछन् । उनका अनुसार नेतृत्व शून्यताले संगठनलाई दिशाहीन बनाएको छ । यी सबै कारण एकसाथ मिसिँदा अहिले आएको बहिर्गमनलाई धेरैले रास्वपाको अस्तित्वमा नै लागेको पहिरोका रूपमा बुझिरहेका छन् । 

Share News