काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश गायब भएको विषयमा भुलसुधार गरेको छ । बैंकले साधारण सभामा ६.३१ प्रतिशत वितरण गर्ने प्रस्ताव छुटेको भन्दै भुलसुधार गरेको हो ।
सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशतका दरले १ अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो । तर, बैंकले प्रकाशित गरेको साधारण सभा सम्बन्धी सूचनामा लाभांश प्रस्ताव उल्लेख छैन ।
बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले सातौं वार्षिक साधारण सभा मंसिर २३ गते बिहान ९ बजे बत्तीसपुतली काठमाडौंमा बोलाएको छ । सातौं वार्षिक साधारण सभाको सार्वजनिक सूचनामा सामान्य प्रस्ताव अन्तर्गतको बुँदा नं.४ भुलवस छुटेको बैंकले जनाएको छ ।
बैंकको सभामा गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्ने र चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरिक्षक बीआरएस न्यौपानोलाई पुनः नियुक्त गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव छ । साथै, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरूको लागि निर्वाचन गर्ने एजेण्डा छ ।