आज चितवन राइनोज र कर्णाली याक्स, विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स भिड्दै

काठमाडौं । दोस्रो संस्करणको  नेपाल प्रिमियर लिग (एनपीएल) मा आज २ खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र  पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद सुरुआत गर्ने हुनेछ ।

चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् । 

यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएर काठमाडौं गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौंले अङ्कतालिकामा दुई अङ्क पनि जोड्यो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले १ करोड १० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ ।

Share News