काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा आएको कुल रकममध्ये ४ लाख ४३ हजार ४३० रुपैयाँ ७० पैसा हिनामिना भएको पाइएको हो ।
उनका अनुसार आयोगले अनुसन्धानका क्रममा छात्रवृत्तिका लागि निकासा भएको ५१ हजार ६०० मध्ये कुनै पनि विद्यार्थीलाई वितरण नगरेको, दिवा खाजाका २ लाख ४७ हजार ५० मध्ये केवल ९ हजार ९०० बराबरको खाजा मात्र खुवाएको र बाँकी २ लाख ३७ हजार १५० दुरुपयोग भएको देखिएको छ ।
यसैगरी पाठ्यपुस्तक शीर्षकमा प्राप्त १ लाख १६ हजार ७२९ मध्ये केवल १ हजार ७६४ रुपैयाँ ४० पैसा बराबरको पुस्तक खरिद गरी तीन विद्यार्थीलाई वितरण गरिएको र बाँकी रकम निकासाअनुसार खर्च नभएको आयोगको अनुसन्धानबाट खुलेको हो ।
सामाजिक सुरक्षा कर ३९ हजार सात सय १४ रुपैयाँ ९५ पैसा समेत दाखिला नगरी हिनामिना गरिएको आयोगद्वारा दायर गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ ।
आयोगले दुवैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र दुरुपयोग गरेको सम्पूर्ण रकम असुल–उपर गर्न मागदाबी लिइएको छ ।