काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ अंकले बढेर २५५० बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार १६७ कम्पनीको सेयर मूल्य बढ्दा ७६ कम्पनीको मूल्य घटेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३३५ कम्पनीको ८८ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको भएको छ । साहसको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै शिवम् सिमेन्टको १६ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १५ करोड ८० लाख, राधी विद्युत कम्पनीको १५ करोड ३२ लाख र युनियन हाइड्रोको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बन्दीपुर केबलकारको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सागर डिस्टीलरी, बुंगल हाइड्रो र झापा इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
सोमबारको कारोबारमा समूहमा नन लाइफ इन्स्योरेन्स र अन्यको सूचक बाहेक अरु सबै सूचक बढेका छन् । बैंकिङ ०.१३, विकास बैंक १.५०, फाइनान्स ०.५६, होटल तथा पर्यटन १.०८, हाइड्रोपावर ०.८८, लगानी ०.५३, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.३४ तथा व्यापार समूह ०.०९ प्रतिशतले बढेका छन् ।