काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भएको सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड अन्तर्गतको टाटा मोटर्सको थापाथलीस्थित मुख्य शोरूम ७० दिनमै पुन:निर्माण गरी सोमबारबाट पुनः सञ्चालनमा आएको छ । कम्पनीले सोमबार (आज) रुद्री पूजा र होम गरेर शोरूमको औपचारिक उद्घाटन गरेको हो ।
सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडका महाप्रबन्धक शावन्तजंग सिजापतिले आन्दोलनका क्रममा आफ्नो शोरूम र केही सवारीसाधनमा ठूलो क्षति पुगेको जानकारी दिए ।
उनले विकासन्युजसँग भने, ‘हामीले सन् २०१६ मा उद्घाटन गरेको यो शोरूम आन्दोलनका क्रममा नराम्ररी प्रभावित भयो । हाम्रा केही गाडी र हाम्रो मुख्य शोरूमको पूर्वाधारमा ठूलो क्षति भयो ।’
महाप्रबन्धक सेजापतिका अनुसार शोरूमको डिस्प्लेमा राखिएका ६ वटा विद्युतीय गाडी (ईभी) पूर्ण रूपमा जलेर खरानी भएका थिए भने अन्य दुईवटा गाडीमा तोडफोड गरिएको थियो । उनले क्षति बाबजुद एउटा सकारात्मक पक्ष पनि औंल्याए ।

बजारमा विद्युतीय गाडीको ब्याट्रीमा आगो लागे पड्किन सक्छ भन्ने भ्रम फैलिएकोमा जलेका ६ वटै विद्युतीय गाडीका ब्याट्रीमा कुनै बिस्फोट नभएको उनले बताए । यसले विद्युतीय गाडीको सुरक्षाबारेको भ्रम चिर्न मद्दत पुगेको उनको भनाइ थियो । गाडीबाहेक शोरूमको ८० प्रतिशत संरचनामा क्षति पुगेको थियो । क्षतिको बाबजुद ग्राहक सेवामा भने कुनै कमी आउन नदिएको सेजापतिले दाबी गरे ।
उनका अनुसार कम्पनीका वर्कशपहरू प्रभावित नभएकोले टाटाका गाडी प्रयोग गर्ने ग्राहकहरूले सर्भिसमा निरन्तरता पाएका थिए । बिक्रीतर्फ भने मुख्य शोरूममा क्षति पुगेपछि पछाडिको सानो खाली ठाउँमा अस्थायी शेल्टर बनाएर बिक्री सेवा दिइएको थियो ।
उनले अब नयाँ ढङ्गले सञ्चालनमा आएको शोरूमबाट पहिलेभन्दा राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत जनाए ।

कर्मचारीहरूको सुविधामा कुनै कटौती नभएको र उनीहरूलाई बिदा दिनु नपरेको सेजापतिले स्पष्ट पारे । ‘हामीले दुई दिनभित्रै अस्थायी शोरूमबाट काम सुरु गरिसकेका थियौं । हाम्रो काममा कुनै रोकतोक भएन । हामी त जहाँ बसेर पनि काम गर्छौं । तर ग्राहकलाई राम्रो अनुभव होस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।
उनले शोरुममा आगजनी भए पनि आफूहरुको मनोबल नखस्किएको बताए । उनले अब थप ऊर्जावान बनेको सुनाए । उनले ४४ वर्षदेखि नेपालमा व्यवसाय गर्दै आएको सिप्रदी नेपालको सबैभन्दा ठूलो नेटवर्क भएको र कमर्सियल गाडी तथा विद्युतीय गाडी दुवैमा हिस्सा राम्रो रहेको सुनाए ।
टाटा नेक्सन ईभी, टियागो ईभी, पञ्च ईभी जस्ता मोडलको सफलताले कम्पनीलाई पहिलो नम्बर पुर्याएको उनको भनाइ छ । नयाँ शोरूममा ग्राहकका लागि छुट्टाछुट्टै लाउञ्ज र पहिलेभन्दा अझ ग्राहकमैत्री वातावरण सिर्जना गरिएको उनले बताए ।
सिजापतीका अनुसार भारतमा टाटा सिएराको पुनः लन्चको तयारी भइरहेको र त्यो गाडी नेपालमा पनि ल्याउने जानकारी दिए । सिप्रदीले नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा पुरस्कार प्राप्त गरेको र करिब ८०० स्थायी तथा १५०० अस्थायी कर्मचारीलाई रोजगारी दिएर राष्ट्र निर्माणमा योगदान गरिरहेको उनले उल्लेख गरे ।
हाल सिप्रदीसँग नेपालभर ३८ वटा डीसी फास्ट चार्जर रहेको र अहिले बजारमा पर्याप्त चार्जर उपलब्ध रहेकाले चार्जिङको समस्या त्यति नरहेको उनले बताए । ग्राहकको मागअनुसार आवश्यक परेका ठाउँमा चार्जिङ स्टेशन थप्न कम्पनी जहिले पनि तयार रहेको उनको भनाइ थियो ।
सेजापतिले पछिल्लो ७० दिनमा धैर्य धारण गरी अस्थायी शोरूममा आएका सम्पूर्ण ग्राहकहरूलाई टाटा मोटर्सको नयाँ शोरूममा स्वागत गर्न तयार रहेको बताए ।
सन् २०२२ देखि विद्युतीय सवारी (ईभी) मा आक्रामक बजार विस्तार गरिरहेको सिप्रदी नेपालमा सबैभन्दा धेरै ईभी बेच्ने कम्पनीका रूपमा चिनिन्छ । यो कम्पनी भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता हो ।