शेख हसीनालाई बंगलादेशको अदालतले सुनायो मृत्युदण्ड, मानवता विरुद्धको अपराधमा दोषी ठहर

बंगलादेश टेलिभिजनमा फैसला घोषणा प्रत्यक्ष प्रसारण

काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसीनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ ।

शेख हसीनामाथि गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहको क्रममा मानवता विरुद्ध अपराधको आरोप तय गरिएको थियो । भारतमा निर्वासनमा रहेकी शेख हसीनाको गैरहाजिरीमा उनीविरुद्ध मुद्दा चलाइएको थियो ।

न्यायाधीश मोहम्मद गुलाम मुत्र्जा मजूमदारको अध्यक्षतामा रहेको तीन सदस्यीय अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण- १ ले यो फैसला सुनाएको हो ।

शेख हसीनासहित तीनै अभियुक्तलाई न्यायाधीकरणले दोषी ठहर गरेको छ । उनीमाथि लगाइएका पाँचमध्ये दुई घटनामा मृत्युदण्ड दिइएको छ भने अर्को घटनामा आजीवन कारावासको फैसला सुनाइएको छ ।

त्यसैगरी, पूर्वगृहमन्त्री असदुज्जमाँ खान कमाललाई पनि मृत्युदण्ड सुनाइएको छ । पूर्वआईजी पुलिस अब्दुल्ला अल मनूनलाई सरकारी साक्षी बनेपछि पाँच वर्षको सजाय दिइएको छ ।

शेख हसीनालाई मृत्युदण्ड सुनाउँदै गर्दा अदालत भित्र र बाहिर ठूलो संख्यामा मानिसहरू उपस्थित थिए । साना–साना समूहहरूमा रहेका मानिसहरूले फाँसीको नाराहरू लगाइरहेका थिए । 

४५३ पृष्ठको फैसला पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजूमदारले भनेका थिए कि यो फैसला छ भागमा सुनाइनेछ ।

बंगलादेश टेलिभिजनमा फैसला घोषणा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

जुनमा अभियोजन पक्षले बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा शेख हसीनासहित तीन व्यक्तिविरुद्ध आधिकारिक रूपमा पाँच आरोप दायर गरेको थियो ।

यसको आधारमा न्यायाधिकरणले शेख हसीना र पूर्वगृहमन्त्री असदुज्जमाँ खान कमालविरुद्ध पक्राउ पूर्जी पनि जारी गरेको थियो ।

गत वर्ष सरकार विरोधी प्रदर्शनको समयमा बंगलादेशमा धेरै हिंसात्मक घटनाहरू भएका थिए । त्यसबेला प्रधानमन्त्री शेख हसीनामाथि मानवता विरुद्ध भएका अपराधमा संलग्न भएको आरोप लागेको थियो ।

यस आन्दोलनको कारण शेख हसीनाले सत्ता गुमाउनु परेको थियो र अगस्त २०२४ मा देश छोड्नुपरेको थियो । तबदेखि उनी भारतमा बसिरहेकी छिन् ।

गत जूनमा आरोप तय हुँदा मुख्य अभियोजक ताजुल इस्लामले दाबी गरेका थिए कि गत वर्ष जुलाई–अगस्टमा १४०० मानिसको हत्या भएको थियो र करिब २५ हजार घाइते भएका थिए ।

अभियोग पक्षले मृत व्यक्तिहरूको सूची पनि न्यायाधीकरणलाई बुझाएको थियो ।

पूर्वप्रधानमन्त्री शेख हसीनासहित तीनै अभियुक्तविरुद्ध दायर आरोपको समर्थनमा ७४७ पृष्ठका दस्तावेज पनि न्यायाधीकरणमा पेश गरिएको थियो ।

तीनै अभियुक्तमाथि हत्या, हत्या प्रयास, षड्यन्त्र, सहायता र प्रोत्साहन, उक्साउने र तिनीहरूमा संलग्न हुने जस्ता पाँच आरोप लगाइएको थियो ।

ताजुल इस्लामले न्यायाधीकरणलाई जानकारी दिएका थिए कि ती पाँच आरोपमा १३ जनाको हत्या पनि समावेश छ ।

बंगलादेशमा रजाकार शब्द देशद्रोही वा गद्दारको रूपमा प्रयोग हुने अपमानजनक शब्द हो । यो शब्द १९७१ को बंगलादेश मुक्तिको युद्धमा पाकिस्तानी सेनासँग मिलेर काम गर्ने र भयानक अपराधमा संलग्न भएकाहरूमाथि प्रयोग हुन्छ ।

षड्यन्त्रको आरोपसहित भनिएको छ कि यी सबै अपराध अभियुक्तहरूको जानकारीमा गरिएका थिए ।

शेख हसीनासहित तीनै व्यक्ति विरुद्ध रंगपुरको बेगम रोकैया विश्वविद्यालयका छात्र अबु सईदको हत्या र राजधानीको चंखर पुलमा छ जनाको हत्या गर्ने आरोप पनि लगाइएको छ ।

त्यसबाहेक गत वर्ष ५ अगस्टमा जब उनी बंगलादेश छोड्न बाध्य भएकी थिइन् तबअशुलियामा पाँच जनाको गोली हानी हत्या, शव जलाउने र एक व्यक्तिलाई जीवित जलाउने आरोप पनि उनीमाथि लगाइएको थियो ।

Share News