वीर अस्पतालको सेवा निजीको भन्दा कम छैन : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले कुनैपनि निजी अस्पतालको सेवा भन्दा वीर अस्पतालको सेवा कम नभएको बताएकी छन् । सोमबार अस्पतालको अनुगमनमा पुगेकी उनले वीर अस्पतालको सेवा कुनैपनि अस्पतालको भन्दा कम नभएको उल्लेख गर्दै निर्धक्क भएर सो सेवा लिन पनि सबैलाई आह्वान गरिन् । 

आफ्नो लामो समयको चिकित्सकीय ज्ञानको आधारमा पनि वीर अस्पतालको सेवा अन्य अस्पतालको भन्दा कम नभएको मन्त्री गौतमको दाबी थियो । मन्त्री गौतमले लामो समय सेवा दिएर वीर अस्पताल थकित वृद्ध रोगी जस्तो भएको अवस्थाबाट जेनजी पुस्ता जसरी जुर्मुराएर उठेर राम्रो सेवा दिएको आफूले पाएको समेत बताइन् । त्यस अवसरमा उनले वीर अस्पतालका लागि आवश्यक नर्सहरुको व्यवस्था गर्न आफू लागिपर्ने आश्वासन समेत दिइन् ।

मन्त्री गौतमले भनिन्,‘पुरानो वीर अस्पताल जुन यत्रो वर्ष सेवा दिएर आफैँ पनि थकित अलि वृद्ध रोगी जस्तो भएको थियो । त्यो फेरि नयाँ जेनजी जसरी आफै पनि अलिकति जुर्मुराएर उठेर राम्रोसँग सेवा दिएको रहेछ । त्यसकारण तपाईहरु सबै जनाले निर्धक्क भएर सेवा लिने वातावरण यहाँ रहेछ । त्यसकारण सो सेवा लिन हुन भनेर म यहाँ आएका मिडियाहरुमार्फत सबैलाई भन्न चाहन्छु  ।’

मन्त्री गौतमले वीर अस्पतालको सेवालाई विस्तार गर्न भक्तपुरको दुवाकोटस्थित जग्गामा भवन बनाएर काम गर्ने सोच पनि आफूले बनाएको बताइन् । प्रादेशिक अस्पतालहरुको क्षमता विस्तारमा पनि लाग्नुपर्ने आवश्यकता रहेको जानकारी दिए । 
 

Share News