अमेरिकी शुल्क घटेपछि हुन्डाईको ठूलो उडान, कोरियामा‍ ८६ अर्ब डलर लगानी गर्ने

हुन्डाई मोटर ग्रुपका अध्यक्ष उइसुन चुंग । फाइल तस्बिर ।

काठमाडौं । हुन्डाई मोटर समूहले २०२६ देखि २०३० सम्म दक्षिण कोरियामा १२५.२ ट्रिलियन वोन (८६.४७ अर्ब डलर) लगानी गर्ने भएको छ । 

अमेरिकी सरकारले दक्षिण कोरियाली सवारीसाधनमाथिको शुल्क २५ प्रतिशतबाट १५ प्रतिशतमा झारेको नयाँ व्यापार सम्झौतापश्चात आइतबार कम्पनीले यस्तो घोषणा गरेको हो ।

यसअघि हुन्डाई मोटर र समूहसम्बद्ध किआ कर्पले २०२१ देखि २०२५ सम्म ८९.१ ट्रिलियन वोन लगानी गरेका थिए ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युंगले आइतबार हुन्डाई मोटर ग्रुपका अध्यक्ष उइसुन चुंग तथा अन्य व्यावसायिक प्रतिनिधिसँग भेटवार्ता गरे । यसअघि सार्वजनिक भएको व्यापार सम्झौतामा दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकाका रणनीतिक क्षेत्रहरूमा ३५० अर्ब डलर लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

‘अमेरिकी १५ प्रतिशत शुल्कका कारण निर्यात घट्ने र घरेलु उत्पादन संकुचित हुने चिन्ताबारे हामी राम्रोसँग जानकार छौं,’ बैठकपछि अध्यक्ष चुंगले भने ।

‘हामी निर्यात बजार विविधीकरण गर्छौं, घरेलु कारखानाबाट निर्यात बढाउँछौं र २०३० सम्म नयाँ विद्युतीय सवारीसाधन कारखानामार्फत गाडी निर्यात दुईगुना बनाउँछौं,’ उनले थपे । 

साथै राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका शुल्कबाट प्रभावित भएका अटो पार्ट्स उत्पादकलाई पनि समूहले सहयोग गर्ने उनले बताए ।

हुन्डाई समूहका अनुसार कुल लगानीमध्ये ५०.५ ट्रिलियन वोन (करिब ३५ अर्ब डलर) एआई तथा अन्य भविष्यमुखी व्यवसायमा केन्द्रित हुने भएको छ। 

त्यसपछि ३८.५ ट्रिलियन वोन अनुसन्धान तथा विकास (आरएन्डडी) मा खर्च गरिनेछ । साथै ३६.२ ट्रिलियन वोन उत्पादन पूर्वाधारको आधुनिकीकरण र गगनचुम्बी संरचना तथा अत्याधुनिक सुविधा निर्माणमा विनियोजित हुने समूहले जनाएको छ ।

घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य

पोर्शेमा आएको संकटले शीर्ष सेयरधनीको नाफा धराशायी

दक्षिणपूर्वी एसियामा होन्डाको वर्चस्व धरापमा, ठूलो चुनौती चीनका ईभी निर्माता

 

Share News