निजी क्षेत्रमाथि लुटपाट, तोडफोड र आगजनी गर्ने कारबाही गर्न महासंघको आग्रह

आक्रमण र तोडफोड गर्नेलाई कारबाही गर्न महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुलाई कारबाही गर्न र सो घटनाको विषयमा जाहेरी लिन नेपाल प्रहरीसँग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूको टोलीले आइतबार नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीलाई भेट गरि सो आग्रह गरेको हो ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वको सो टोलीले घटनामा संलग्नहरूमाथी कारबाही नगर्ने हो समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गर्दै यस विषयमा महानिरीक्षक कार्कीको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष ढकालले आन्दोलन पछि निजी क्षेत्रको मनोबल कमजोर मात्र नभई आर्थिक क्रियाकलाप मै नकारात्मक असर पुर्याएको बताए । 

‘जेनजी आन्दोलनमा उठेका सुशासन, पारदर्शिताका एजेण्डाहरु महासंघले उठाउँदै आएका एजेण्डाहरु हुन् । यद्यपि पछिल्लो जेनजी आन्दोलन र त्यसक्रममा भएका घुसपैठले निजी उद्योग प्रतिष्ठानहरुमा ठूलो क्षति भएको छ । उद्योगी व्यवसायीहरूको मनोबल कमजोर भएको अवस्था छ । यो अवस्थामा औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिलाउनु आवश्यक छ,’ उनले भने । 

उनले घटनाका दोषीहरूमाथिको जाहेरी दर्ता नलिने र कारबाहीमा उदासीनता देखिए दण्डहीनता बढ्न गई लगानीको वातावरणलाई गम्भीर असर पर्ने र आउने दिनमा फेरि यस्ता घटना दोहरिन सक्ने जोखिम कायम रहने धारणा राखे ।

निवर्तमान अध्यक्ष शेखर गोल्छाले लगानीको लागि पहिलो सर्त सुरक्षा भएको उल्लेख गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नहुने हो भने आर्थिक गतिविधि र लगानी निरुत्साहित हुने बताए । 

‘आन्दोलन पछि व्यवसायीहरूले प्रमाणसहित जाहेरी दिए पनि नलिएको अवस्था छ । काठमाडौं बाहिरका जिल्लाहरूबाट पनि जाहेरी नलिएको गुनासो व्यवसायीहरूबाट आइरहेको छ । यसले व्यवसायीहरूमा एक प्रकारको निराशा छाएको छ । तसर्थ यसलाई गम्भीर रुपमा लिन आग्रह गर्दछु,’ उनले भने । 

यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले हरेक आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण हुने गरे पनि यो पटक निजी क्षेत्रमाथि योजनाबद्ध रुपमा आक्रमण गरिएको बताए । उनले शान्ति सुरक्षा विना स्थायित्व कायम नहुने र स्थायित्व बिना आर्थिक गतिविधि चलायमान नहुने हुनाले शान्ति सुरक्षाको प्रत्याभूति अत्यन्तै आवश्यक रहेकोमा जोड दिए । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शान्ति-सुरक्षा कायम गर्नु प्रहरीको पहिलो दायित्व भएको उल्लेख गर्दै देशमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिवद्ध भएर लागेको बताए । 

आन्दोलनका क्रममा गलत घुसपैठ गरी हिंसा, तोडफोड र अराजक कार्यमा संलग्न जो-कसैलाई पनि प्रमाणका आधारमा कानूनी कारबाही दायरामा ल्याइने धारणा राखे । 

‘निजी क्षेत्र अर्थतन्त्रको प्रमुख आधार हो । यो क्षेत्रको संरक्षण विना अर्थतन्त्र चलायमान हुन सक्दैन । नेपाल प्रहरी निजी क्षेत्र, आम नागरिकको सुरक्षाको लागि सधैं संवेदनशील छ । यसमा सबैको सहयोग अपरिहार्य छ,’ उनले भने । 

प्रहरी महानिरीक्षक कार्कीले आन्दोलनका क्रममा भएका सार्वजनिक तथा निजी सम्पत्ति माथि भएको आक्रमण र तोडफोडमा संलग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याइने र यसका लागि सबै जिल्ला स्थित प्रहरी कार्यालयहरूलाई निर्देशन दिइएको जानकारी दिए । महासंघका उपाध्यक्षहरू सुर कृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्य लगायतको सहभागिता थियो ।

Share News