एनसेलले यसपटक पनि एनपीएलका हरेक चौकावापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले यस वर्ष पनि नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौकावापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ । 

गत वर्ष एनपीएलसँगको साझेदारी अन्तर्गत २ हजार ६१२ विद्यार्थी लाभान्वित भएकाले यस वर्ष पनि एनसेल फाउन्डेसनले यो साझेदारीलाई निरन्तरता दिएको हो । 

गत वर्ष एनपीएलका खेलहरूमा कुल ६५३ चौका हानिएका थिए । क्रिकेटको रोमाञ्चकता शिक्षासँग जोडिएको यो कार्यक्रमका २ हजार ६१२ सहित एनसेलले देशभरका ९ हजारभन्दा बढी विद्याथीहरूलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ । 

क्रिकेटदेखि कक्षाकोठासम्मको यस नवीन पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने विश्वास लिएको छ । 

विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरू जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुन्छन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ ।

एनसेलका अनुसार फाउन्डेसनले प्रदान गर्ने शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र कार्यन्वयन साझेदारलगायतको सहकार्यमा प्रदान गरिनेछ । यो पहलले क्रिकेट मैदानको उत्साह र खेलाडीका उत्कृष्ट प्रदर्शनमार्फत विद्यालयका कक्षाकोठासम्म पुगी पठनपाठनमा सुधार ल्याउन योगदान पुर्याउने विश्वास लिइएको छ  ।

Share News