जेनजी आन्दोलन र बाढीको असर निर्जीवन बीमा कम्पनीको नाफामा, १४ मध्ये १२ कम्पनी ऋणात्मक

काठमाडौं । गत भदौको जेनजी आन्दोलन र असोज महिनामा गएको बाढीको प्रत्यक्ष असर निर्जीवन बीमा कम्पनीहरूको नाफामा परेको छ । बीमा कम्पनीहरूले सार्वजनिक गरेको पहिलो त्रैमास (साउन–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ मध्ये १२ कम्पनीको नाफा ऋणात्मक देखिएको हो । 

पहिलो त्रैमासमा नेशनल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स मात्रै नाफामा गएको छ । नेशनल इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा ३ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनी १८ करोड ३ लाख रुपैयाँले घाटामा थियो । 

प्रभु इन्स्योरेन्सले असोज मसान्तसम्ममा ६ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत जेनजी आन्दोलनको क्रममा भएको क्षतिको सबैभन्दा धेरै दाबी परेको सिद्धार्थ प्रिमियरको असोज मसान्तसम्ममा नाफा २९ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले नाफा ६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।

पछिल्लो तथ्यांकअनुसार जेनजी आन्दोनबाट सिद्धार्थ प्रिमियरमा ५ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ बराबरको ४०१ वटा दाबी परेको छ । त्यस्तै, असोज १८ गतेदेखि देशभर परेको अविरल वर्षाको कारण भएको क्षतिको ५० करोड ९४ लाख रुपैयाँ दाबी परेको छ । 

जेनजी आन्दोलनको क्रममा भएको क्षतिको दोस्रो धेरै दाबी परेको द ओरियन्टलको पहिलो त्रैमासमा नाफा २८ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनी २४ करोड ५१ लाख रुपैयाँले ऋणात्मक थियो । उक्त कम्पनीको जेनजी आन्दोलनको मात्रै ५ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ बराबरको १०१ वटा र बाढीको २१ करोड ४३ लाख रुपैयाँ दाबी परेको छ ।

त्यस्तै, तेस्रो धेरै जेनजी आन्दोलनको दाबी परेको सिद्धार्थ प्रिमियरको पहिलो त्रैमासमा नाफा २० करोड ७६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको थियो ।

असोजसम्ममा शिखर इन्स्योरेन्सको नाफा १५ करोड ८५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनी ११ करोड ५२ लाख रुपैयाँ ऋणात्मक थियो । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स २६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । सलिकोले अघिल्लो आवको यही अवधिमा ८ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

सलिकोपछि नेको इन्स्योरेन्सको नाफा ८ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो आवको यही अवधिमा नेकोले ७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

null

हिमालय एभरेष्ट इन्स्यारेन्सको १० करोड ९३ लाख रुपैयाँ, सानिमा जिआइसीको २० करोड २ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको १५ करोड ११ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १० करोड १० लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको ९ करोड ९५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ९ करोड ६३ लाख रुपैयाँ बराबरको नाफा ऋणात्मक रहेको छ ।

अघिल्लो आवको यही अवधिमा हिमालयन एभरेष्टले ६ करोड ६१ लाख रुपैयाँ, सानिमा जिआइसीले ५ करोड ८ लाख रुपैयाँ, एनएलजीले ४ करोड ८९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १५ करोड ६५ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो । 

Share News