काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले दीर्घकालीन सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी वर्ल्ड पीस फोरमसँग संयुक्त रूपमा ‘वान मिलियन ट्रीज क्याम्पेन’ सञ्चालन गर्न औपचारिक सम्झौता गरेको छ । प्राकृतिक संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारलाई मुख्य उद्देश्य बनाइएको यो अभियानले देशभरका समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार एक मिलियन रूख रोप्ने यस अभियानले जलवायु परिवर्तनका चुनौतीहरू न्यूनीकरण गर्न, कार्बन उत्सर्जन घटाउन र देशभर हरियाली वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । वातावरणीय सन्तुलन कायम गर्दै भविष्यका पुस्तालाई सुरक्षित र स्वस्थ वातावरण प्रदान गर्नु यस अभियानको मूल लक्ष्य हो ।
सहकार्यपछि कम्पनीले सबै प्रदेशमा शाखामार्फत अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले हाल देशभर १४८ वटा शाखा तथा उपशाखाबाट सेवा प्रदान गर्दै आएको छ ।