निर्वाचन आयोगमा १२२ दल दर्ता, सात खारेज, २८ प्रक्रियामै

काठमाडौं । निर्वाचन आयोगमा १२२ दल दर्ता भएका छन् । आयोगले आइतबार (कात्तिक ३०) पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन १२२ दल दर्ता थियो भने अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेका छन् । उनका अनुसार,  यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन् । 

एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दल नेतृत्वको आग्रहमा खारेज गरिएको उनको भनाइ छ । उनले हाल २८ दल दर्ता प्रक्रियामा रहेको बताए ।

भदौ २७ गते प्रतिनिधिसभा विघटन भई नयाँ निर्वचन मिति घोषणा भएको थियो । भट्टराईले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भए पनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने प्रयोजनको अवधिभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरूले निर्वाचनमा सहभागस् हुन पाउने जानकारी दिए । 

उनले भने, 'आज हामीले मुख्य दुई वटा कामहरु गरिरहेका छौं । एउटा दल दर्ता र अर्को मतदाता नामावलीमा नाम दर्ता गर्ने काम समेत भइरहेको छ । निर्वाचन घोषणा हुने मितिमा जम्मा १२२ वटा दल दर्ता भएको अवस्था थियो । यो बीचमा राजनीतिक दल दर्ता हुने क्रम पनि बढिरहेको छ । र, खारेज हुने क्रम पनि बढिरहेको छ ।' 

उनले मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेको उल्लेख गरे । उनका अनुसार मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य अगामी मंसिर ५ गतेसम्म जारी रहने छ ।

शनिबार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचय पत्रबाट आवेदन दिनेको संख्या दुई लाख रहेको समेत प्रवक्ता भट्टराईले बताए । 

Share News