भिभो बन्यो एनपीएलको आधिकारिक स्मार्टफोन पार्टनर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण ‘फेस्टिभल अफ द हिमालयज’ मंसिर १ गतेबाट औपचारिक रूपमा सुरु हुँदैछ । महोत्सवको पूर्वसन्ध्यामा विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभो पुनः नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गर्दै एनपीएलको आधिकारिक स्मार्टफोन पार्टनर बनेको घोषणा गरेको छ ।

भिभोले साझेदारीसम्बन्धी घोषणा आफ्नो तथा एनपीएलको आधिकारिक फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेको हो । प्रतियोगिता प्रारम्भ हुनुअघि नै गरिएको यो घोषणाले क्रिकेटप्रेमीहरूमा थप उत्साह, ऊर्जा र अपेक्षा जगाएको छ ।

पहिलो संस्करण सफल रूपमा सम्पन्न भएपछि यस वर्षको एनपीएल अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागितासहित २७ दिनसम्म चल्ने यस लिगलाई नेपाली क्रिकेटको उत्सवका रूपमा हेरिएको छ ।

भिभोले सहकार्यमार्फत नेपालमा खेलकुद, विशेषगरी क्रिकेटको विकासप्रति आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्याएको छ । अत्याधुनिक प्रविधि, फ्यान–केन्द्रित गतिविधि र मनोरञ्जनात्मक कार्यक्रममार्फत यस वर्ष फ्यानहरूको खेल अनुभवलाई अझ प्रभावशाली बनाउन भिभोले लक्ष्य लिएको जनाएको छ ।

भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भोलिदेखि सुरु हुने एनपीएलप्रति उत्साह प्रकट गर्दै भने,
'क्रिकेट नेपालीहरूलाई एकै ठाउँमा जोड्ने खेल हो । भिभो हरेक वर्ष फ्यानहरूको उत्साहलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित एनपीएलको यात्रा पुनः निरन्तरता दिन पाउँदा अत्यन्त खुशी छ ।'

नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्काले भिभोको निरन्तर सहकार्यले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुगेको बताए । उनले भने, 'एनपीएल नेपाली खेलाडीहरूका लागि प्रतिभा प्रदर्शन गर्ने महत्त्वपूर्ण मञ्च बनेको छ । दोस्रो संस्करणले खेलाडी र फ्यान दुवैलाई नयाँ प्रेरणा र अवसर प्रदान गर्नेछ ।'

प्रतियोगिताको अवधिभर भिभोले फ्यानहरूलाई लक्षित विविध डिजिटल तथा ग्राउण्ड एक्टिभेशन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यी गतिविधिहरूले फ्यान संलग्नता, मनोरञ्जन र क्रिकेटप्रतिको आकर्षणलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Share News