सोलुमा जहाज टिकटको संकट : सर्वसाधारणले पावरबिना टिकट पाउन मुस्किल

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्कीलाई शनिबार अचानक काठमाडौं जानुपर्ने बाध्यता आयो । अत्यावश्यक काम परेपछि उनले फाप्लुस्थित नेपाल एयरलाइन्सको कार्यालयमा फोन गरेर टिकट मागे, तर जवाफ फेरि–फेरि एउटै रह्योस् 'टिकट छैन ।' यही अनुभवले कार्की मात्र होइन, समग्र तल्लो सोलुखुम्बुका सर्वसाधारणको विमान सेवासँगको वर्तमान अवस्था स्पष्ट गरेको छ । अन्ततः कार्की सडकमार्ग रोज्न बाध्य भए ।

स्थानीय सल्लेरीका रश्विन मगरले भने, 'यो व्यक्तिगत समस्या मात्र होइन, सोलुखुम्बुमा विमान सेवा कति अव्यवस्थित, पहुँचवाला व्यक्तिको नियन्त्रणमा र सर्वसाधारणविरोधी बनेको छ भन्ने यथार्थ हो ।'

हाल फाप्लु–काठमाडौं उडान हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) मात्रै संचालनमा छन् । निजी क्षेत्रका कम्पनीहरूले व्यस्तता र अनुकुलता नदेखाइ उडान तालिका हटाउँदा स्थानीयहरू नेपाल एयरलाइन्समै निर्भर हुन बाध्य छन् । तर सामान्य नागरिकले टिकट माग्दा 'छैन' भन्ने जवाफ पाउँछन्, जबकि उच्च पदस्थ वा पहुँचवाला व्यक्तिले तुरुन्तै टिकट पाउँछन् ।

सोलुकै सन्देश राईले भने, 'काठमाडौंबाट सोलु आउँदा सहज छ, तर सोलुबाट काठमाडौं जानु भनेको फलामको चिउरा चपाएसरह हो । विदेशी पर्यटकलाई प्राथमिकता दिने कारणले सामान्य यात्रुलाई सिट दिन समस्या हुन्छ ।' नेपाल एयरलाइन्स फाप्लुका स्टेशन इन्चार्ज तेन्जी शेर्पाले भने, 'विदेशी पर्यटकलाई प्राथमिकता दिनुपर्छ ।'

स्थानीयहरूले भने विमान टिकट पाउन 'पावर' वा पहुँचवाला आफन्तको सहायताको आवश्यकता पर्नुलाई गम्भीर समस्या मान्छन् । यसबारे गुनासो काठमाडौंको ट्राभल्स एजेन्सीमा समेत आइरहेको छ ।

सोलुखुम्बु पर्यटनको आधार र सगरमाथाको प्रवेशद्वार भएकाले यहाँ हवाई टिकट जस्तो आधारभूत सेवा प्राप्त गर्न पावर आवश्यक पर्नु प्रशासनिक कमजोरी मात्र नभई सरकारले सम्बोधन गर्नुपर्ने नागरिक समस्या भएको स्थानीयहरूले जोड दिएका छन् ।

Share News