झण्डै ३० खर्ब पुग्यो विदेशी विनिमयको सञ्चिति, जीडीपीको आधा हिस्सा

करिब २० महिनाकाे आयात धान्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयको सञ्चिति धमाधम बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक गर्दै विदेशी विनिमय सञ्चिति बढ्दै गएको देखाएको हो । 

२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई २१ अर्ब २१ करोड पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १०.५ प्रतिशतले वृद्धि भई २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई ३ खर्ब १२ अर्ब १० करोड कायम भएको छ । २०८२ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४८.८ प्रतिशत, १३६.६ प्रतिशत र ३६.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
 

Share News