काठमाडौं । ब्रिटिश उद्यमी तथा चर्चित परफ्यूमर जो मेलोन (सीबीई) ले आफ्ना कठोर बाल्यकाल र ११ वर्षकै उमेरमा परिवारको मुख्य आम्दानीकर्ता बनेको अनुभवले कसरी उद्यमशीलता बीउ रोप्यो भन्नेबारे खुलाएकी छन्।
जो मेलोन लन्डन र जो लभ्स जस्ता सफल पर्फ्यूम ब्रान्डकी संस्थापक मेलोन हालै सीएनबीसीको पोडकास्टमा स्टीभ सेजविकसँग सहभागी भएकी थिइन् । सो एपिसोड मंगलबार सार्वजनिक गरिएको थियो ।
जो मेलोन लन्डन ब्रान्ड सन् १९९९ मा इस्ती लाउडर कम्पनीजले खरिद गरेको थियो, जसबाट मेलोनले करोडौं पाउन्ड बराबरको रकम पाएकी थिइन्, यद्यपि कति पाएकी थिइन् भन्ने सार्वजनिक गरिएको छैन ।
तर करोडपति बन्नुभन्दा धेरै पहिले मेलोनले बेलायतको केन्टस्थित एक काउन्सिल इस्टेटमा बिताएको बाल्यकाल सम्झिइन्—उनकी आमाले ब्युटी क्षेत्रमा काम गर्थिन् भने उनका बुबा कलाकार मात्र नभई जुवाडे र पोकर खेलाडी पनि थिए ।
उनले भनिन्, ‘११ वर्षको उमेरदेखि नै म नै घरको ठूलीजस्तै भइसकेकी थिएँ । ‘बिजुली–ग्यासको मीटर रिचार्ज गर्न पैसा छ कि छैन?’ भनेर हेर्ने काम म गर्थेँ । किनकि यदि उहाँ (बुबा) ले सबै पैसा जुवामा हारे हामीसँग खानेकुरा पनि हुँदैनथ्यो।’
मेलोन किशोरावस्थामा पुग्नुअघि नै उनकी आमा मानसिक रूपमा निकै कमजोर भइन् । त्यसका कारण उनले लगभग एक वर्ष स्कुल जानै सकिनन् र आमाबुबा तथा कान्छी बहिनीका लागि घर चलाउने उपाय खोजिरहेकी थिइन् ।
चतुर मेलोनले आमाले सिकाएका कला प्रयोग गर्दै आमाले बेच्ने फेस क्रिमको नक्कल बनाइन् जसलाई उनले ट्रेन चढेर लन्डन लगेर ४.५० यूरोमा बेच्थिन् ।
‘यस्तै गर्थें जसले हाम्रो परिवार एकैसाथ टिकाइरह्यो । बुबा कहिल्यै घरमा हुनुहुँदैनथियो, जहिल्यै हराउनुहुन्थ्यो,’ उनले भनिन् ।
‘त्यस्तै कठिन क्षणहरूले नै मलाई बनाएको हो । जे आए पनि म बाँच्ने बाटो फेला पार्थें– कहिले सुरुङ, कहिले सिँढी तर अर्को २० यूरो कसरी कमाउने भनेर सोच्थें,’ उनले थपिन् ।
शनिबारका दिन उनी बुबाका चित्रहरू बेच्थिन् किनकि घरमा खानेकुरा किन्न पैसा चाहिन्थ्यो र बुबाले सबै पैसा खर्च गर्थे । आइतबार उनी बुबासँग पोकर खेल हेर्न जान्थिन् ।
आज मेलोन सफल उद्यमीका रूपमा स्थापित छिन् र ती कठिन बाल्यकालका अनुभवलाई उनले आफूलाई कडा, दृढ र उद्यमशील बनाएको समयका रूपमा सम्झिन्छिन् ।

सुरुवातमा मात्र बाँच्ने संघर्ष
‘म सधैं भन्थेँ— म ठूलो भएपछि यस्तै जीवन जीउँदिनँ, यस्तो परिवार बनाउँदिनँ,’ एक दिनको सम्झना सुनाउँदै उनले भनिन्, ‘मेरो कोठामा कुनै हिटर थिएन । निकै जाडो थियो, झ्यालमा बरफ जमेको थियो । मैले औंलाले त्यो बरफ छेरेर बाहिर हेरिरहेँ र सोचेँ– ‘म आफ्नो भाग्य बदल्नैपर्छ ।’
किशोरी हुँदा उनी साथीहरू जस्तै खेलकुद वा रमाइलो गर्न पाउँदिनथिन् । उनी घरमै कपडा धुने, खाना पकाउने, बहिनीलाई स्कुलबाट ल्याउने काम गर्थिन् ।
धेरै पछि मात्र उनले बुझिन्—उही आत्मनिर्भरता नै उद्यमशील भावना बन्न पुगेको रहेछ । ‘सुरुमा यो बाँच्नकै लागि थियो,’ उनले भनिन् ।
फुलबारीमा काम गर्नु, रेस्टुरेन्टमा भाँडा माझ्नु, कुकुर हिँडाउनुजस्ता कामबाट उनको यात्रा सुरु भएको थियो ।
‘म कहिल्यै लजाइनँ । जुनसुकै काम गर्नुपरे पनि तयार थिएँ । तर जब मैले पहिलो स्किनकेयर व्यवसाय सुरु गरेँ—त्यही बेला थाहा पाएँ कि ‘अब मेरो जीवन ममै छ,’ र यही नै उद्यमशीलताको जन्म क्षण थियो,’ उनले भनिन् ।
मेलोन हाल दुबईमा बस्छिन् र यसै वर्ष उनले जो भोड्का नामको लक्जरी स्पिरिट ब्रान्ड सुरु गरेकी छन् । साथै उनी जो लभ्स नामक सुगन्ध व्यवसाय पनि सञ्चालन गर्छिन् ।
घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य