फरमुल्लाहलाई दोहोर्‍याएर बोल्न दिँदा कांग्रेस बैठकमा होहल्ला

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई दोहोर्याएर बोल्न अनुमति दिँदा होहल्ला भएको छ । 

पार्टीका एक केन्द्रीय सदस्यका अनुसार बिहीबारको बैठकमा सहमहामन्त्री उमाकान्त चौधरीले धारणा राखिसकेपछि मन्सुरलाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोल्न अनुमति दिएका थिए । तर मन्सुर बोल्न लाग्दा बैठकमा सदस्यहरूले विरोध स्वरूप होहल्ला गरेका थिए।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए अनुसार मन्सुरले यसअघि नै १९ कात्तिकमा बसेको बैठकमा धारणा प्रस्तुत गरिसकेका थिए । त्यसकारण केही नेताहरूले उनलाई पुनः बोल्न दिने निर्णयको विरोध गरेका हुन् । 

यसअघि सभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री निर्वाचित मन्सुर पछिल्लो समय महामन्त्री गगन थापाप्रति धेरै लचिलो बन्दै आएका छन् । 

प्यानल परिवर्तन गरेकोले फेरि महामन्त्री थापालाई नै समर्थन गर्न लागेको आशंकामा संस्थापन पक्षका नेताहरू नै मन्सुर विरुद्ध होहल्लामा उत्रिएको ती केन्द्रीय सदस्यले जानकारी दिए ।

Share News