काठमाडौं । सोमानी सेरामिक्सले नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाल क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
ब्रान्ड फेसको रूपमा पारस खड्का सोमानी सेरामिक्सका टायल्स, बाथवेयर, एडहेसिभ र वाटरप्रूफिङ लगायतका सम्पूर्ण उत्पादनहरूको प्रवर्द्धन सम्बन्धी विभिन्न गतिविधिमा सहभागी हुने कम्पनीले जनाएकाे छ ।
सहकार्यको प्रसङ्गमा सोमानी सेरामिक्सका सह-अध्यक्ष सुजित मोहन्तीले पारस खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।
उनले भने, 'पारस खड्काको लगनशीलता र उत्कृष्टताको यात्रा हाम्रो नवीनता र नेतृत्वका सिद्धान्तसँग मेल खान्छ । नेपाल लामो समयदेखि हाम्रो सबैभन्दा मूल्यवान बजारमध्ये एक हो र पारसको विश्वसनीयता तथा जनसम्पर्कले हाम्रो गुणस्तर, डिजाइन र विश्वासको लक्ष्यलाई अझ सुदृढ बनाउनेछ ।'

त्यसैगरी, सोमानीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले पारस खड्कालाई 'नेपालमा घर-घरमा चिनिएको नाम' भन्दै प्रशंसा गरे ।
उनले भने, 'पारस केवल खेलमैदानमा उत्कृष्टता र नेतृत्वका लागि मात्र होइन, आफ्नो इमानदारी र सकारात्मक प्रभावका कारण पनि सबै पुस्तामा लोकप्रिय छन् । युवादेखि परिवारसम्म सबैमा उनी मनपर्ने व्यक्तित्व हुन्, जसले सोमानीका गुणस्तर, नवीनता र विश्वासका मूल्यहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नेछन् ।'
पारस खड्काले पनि सोमानीसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने, 'मैले जस्तै उत्कृष्टता र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्रान्डसँग काम गर्न पाउनु गर्वको कुरा हो । सोमानी घर सजावटको क्षेत्रमा विश्वसनीयता र प्रिमियम उत्पादनको प्रतीक हो, र मैले व्यक्तिगत रूपमा पनि कम्पनीको उत्कृष्टताप्रतिको प्रतिबद्धता देखेको छु।'
कम्पनीका अनुसार यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ गर्ने उद्देश्य राखेको छ ।