६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९५ अंकले घटेर २५४३ बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बिहीबार ३२९ कम्पनीको ७४ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनरको भएको छ । हिमालयनको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै हिमालयन डिस्टीलरीको १३ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १२ करोड ७० लाख, युनियन हाइड्रोको १२ करोड ४२ लाख  र साहस ऊर्जाको १२ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माबिलुङ इनर्जी र श्वेत गंगा हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सागर डिस्टीलरी र बुंगल हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यसैगरी बन्दिपुर केबलकार र  रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

बिहीबारको कारोबारमा समूहगत सूचकमा बैंकिङ ०.१२, फाइनान्स ०.०९, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.२२ तथा व्यापार ०.७९ प्रतिशतले बढेका छन् । अन्य ०.२४, निर्जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२९, जीवन बीमा ०.२३, लगानी ०.०७, विकास बैंक ०.०८ प्रतिशतले घटेका छन् ।   

Share News