सुनको मूल्य प्रतिऔंस ४ हजार २०० डलर नाघ्यो, अमेरिकी शटडाउन समाप्तिपछि बजार उत्साहित

काठमाडौं । अमेरिकी सरकारको शटडाउन समाप्त हुने अपेक्षाका बीच बुधबार सुनको मूल्य २ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २०० डलर नाघेको छ । डलरको मूल्यमा आएको गिरावटले सुनको चमक थप बढाएको हो ।

अमेरिकामा ४३ दिनसम्म चलेको इतिहासकै लामो शटडाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले फन्डिङ बिलमा हस्ताक्षर गरेपछि समाप्त भएको हो । यससँगै रोकिएका आर्थिक तथ्यांकहरू सार्वजनिक हुने अपेक्षा बढेको छ, जसले डिसेम्बरमा फेडरल रिजर्भले ब्याजदर घटाउने सम्भावनालाई पनि बल दिएको छ ।

टीडी सेक्युरिटीजका कमोडिटी रणनीतिक प्रमुख बार्ट मेलकका अनुसार, ‘सरकारी शटडाउन अन्त्यपछि व्यापारीहरूले लामो पोजिसन बढाउने र छोटा पोजिसन बन्द गर्ने सम्भावना छ ।’

४२ दिन लामो शटडाउनले प्रमुख सरकारी तथ्यांक प्रकाशनमा रोक लगाएको थियो, जसका कारण नीतिनिर्माताहरू र बजारहरू निजी क्षेत्रका डाटामाथि निर्भर हुन बाध्य भएका थिए ।

सुनसँगै अन्य बहुमूल्य धातुहरूको मूल्य पनि बढेको छ । चाँदी ४।६ प्रतिशत बढेर प्रतिऔंस ५३.५८ डलर पुगेको छ । प्लाटिनम २ प्रतिशतले उकालो भरेर प्रतिऔंस १ हजार ६१६.८० डलर र प्यालाडियम २.५ प्रतिशतले बढेर प्रतिऔंस १ हजार ४८०.५८ डलरमा कारोबार भएको छ ।

नेपाली बजारमा बिहीबार एक तोला सुनको मूल्य २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

Share News