काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकैपटक साढे ९ सय जना भन्दा बढी सुरक्षा श्रमिक भर्ना गर्ने भएको छ । बैंकले देशभरका शाखा कार्यालयका लागि सुरक्षा श्रमिक भर्ना गर्न लागेको जनाएको छ ।
सुरक्षा श्रमिक आपूर्ति गर्न बैंकले गत असारमा बोलपत्र आह्वान गरेको थियो । बैंकले आह्वान गरे बमोजिम विभिन्न ५ वटा सेक्युरिटी कम्पनीले आवेदन दिएका छन् ।
बैंकका अनुसार नेपाल एक्स-टू सेक्युरिटी सर्भिस प्रालि, जेभी नेम डिलक्स सेक्युरिटी सर्भिस प्रालि तथा नवदुर्गा सेक्युरिटी गार्ड सप्लाई सेक्युरिटी प्रालि, गरुड सेक्युरिटीज प्रालि, कान्तिपुर सेक्युरिटी सर्भिस प्रालि र गोर्खाली योद्धा सेक्युरिटी सर्भिस प्रालिले आवेदन दिएका छन् ।
अब बैंकले गोलाप्रथाका माध्यमबाट कम्पनी छनोट गर्ने जनाएको छ । बोलपत्र पेस गरेका यी ५ कम्पनीलाई मंसिर २ गते बैंकको सामान्य सेवा विभागमा दिउँसो साढे २ बजे सहभागीका लागि अनुरोध गरेको छ ।