काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ बराबरको ५० दरका नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले ५० रूपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्ने प्रक्रिया अघि बढाएको हो । सो आधारमा राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ बराबरको ५० दरका ४२ करोड नयाँ नोट छाप्न लागेको हो ।
४२ करोड थान नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकले चिनियाँ कम्पनीसँग सम्झौता गरेको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकका अनुसार नयाँ बैंक नोट डिजाइन, छपाई तथा आपूर्तिको लागि चीनको बेइजिङमा रहेको ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको विभागले जनाएको हो ।
५० दरका नयाँ नोट छाप्न राष्ट्र बैंकले गत साउन ९ गते बोलपत्र आह्वान गरेको थियो । सो बोलपत्र प्रक्रियामा प्राप्त प्रस्तावहरूमध्ये न्यूनतम मूल्याङ्कन प्राप्त र प्रभावकारी ठहरिएको कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनसँग कात्तिक २५ गते सम्झौता सम्पन्न विभागले जनाएको छ ।
उक्त कम्पनीलाई नोटको डिजाइन तथा छपाइका लागि १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डरल (१ अर्ब ४७ करोड रुपैयाँ) भुक्तानी दिइने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सम्झौता सार्वजनिक खरिद नियमावली, २०६४ (चौधौँ संशोधन, २०८२) को दफा १३७ तथा नोट छपाइ तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ सम्म संशोधित) को दफा ५४ बमोजिम गरिएको छ ।