काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।
साधारणसभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति, नियमहरूको पूर्ण परिपालना गर्दै सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।
साथै बैंकले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे ।
साधारणसभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधि, सेयरधनी, संस्थागत सेयरधनीका प्रतिनिधि, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधि, कर्मचारी समेतको उपस्थिति रहेको थियो ।