सौर्य ऊर्जाबाट चम्कियो पियोर इनर्जी, पहिलो त्रैमासमा ९० लाख नाफा

काठमाडौं । पियोर इनर्जी लिमिटेडले २०८२/८३ को पहिलो त्रैमासमा ९० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ५२ लाख ५९ हजार खुद नाफा कमाएको थियो । 

पियोरले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै वर्षको सुरुवातमै नाफा कमाउन सफल भएको हो ।

२०७८ मंसिरमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरी २०८० वैशाखदेखि व्यापारिक उत्पादन सुरु गरेको पियोर इनर्जीका बाँकेमा १०/१० मेगावाट क्षमताका दुईवटा सोलार आयोजना सञ्चालनमा रहेका छन् । 

कम्पनीले पहिलो त्रैमासमा विद्युत बिक्रीबाट ६ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । 

‘यस कम्पनीले पीपीए अनुसार नेपाल विद्युत प्राधिकरणलाई निरन्तर र कुनै अवरोधबिना बिजुली आपूर्ति गर्दै आएको छ,’ पियोरले सार्वजनिक गरेको वित्तीय विवरणमा भनिएको छ, ‘यस त्रैमासिकमा कम्पनीको खातामा नियमित विद्युत बिक्रीबाट रकम भुक्तानी प्राप्त भएको छ । आगामी अवधिमा पनि यस कम्पनीको आयोजनाको व्यवस्थापनको विश्लेषण गर्दै व्यावसायिक रूपले सक्षम तरिकाबाट सञ्चालन गरी अधिकाधिक विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई उपलब्ध गराउने योजना छ ।’ 

कम्पनीले हालसम्म बैंकबाट लिएको ऋणको साँवा तथा ब्याजको भुक्तानी नेपाल राष्ट्र बैंकद्वारा समय–समयमा गर्दै निर्धारित समयमा भुक्तानी गरिरहेको पनि जनाएको छ ।

गोल्याण ग्रुप अन्तर्गतको पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने सोलार कम्पनी हो । गत वैशाखमा आईपीओ निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । कम्पनीको अघिल्लो वर्ष सोही अवधिको तुलनामा प्रतिसेयर आम्दानी पनि बढेको छ । 

२०८१/८२ को पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी ३.२९ रुपैयाँ रहेकोमा पछिल्लो समीक्षा अवधिमा ४.५० पुगेको छ । 

प्रतिसेयर नेटवर्थ पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ९७.२७ रुपैयाँ रहेको थियो भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १०१.६१ रुपैयाँ पुगेको छ ।

निरन्तर नाफामा गइरहेको पियोर इनर्जीले सोल पावरमा २६ प्रतिशत सेयर लगानी गरेको छ । पियोर इनर्जीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको २०८१/८२ को वित्तीय विवरणअनुसार प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका २ लाख ६० हजार कित्ता खरिद गरिएको छ । 

सोल पावरले पाँचवटा सोलार परियोजना निर्माण गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणको वार्षिक प्रतिवेदन २०२४/२५ अनुसार सोल पावर अन्तर्गतका पाँचवटै परियोजनाको गत जेठ २९ गते विद्युत खरिद विक्री सम्झौता (पीपीए) भएको छ ।

Share News