काठमाडौं एम्बार्क अनम्याथले गणित सिक्ने र सिकाउने परम्परागत धारणा परिवर्तन गर्न ‘ग्लोबल म्याथ डिबेट लिग’ (जीएमडीए) सुरु गरेको छ ।
कठिन गणितीय अवधारणाहरूलाई रचनात्मक रूपमा र दैनिक जीवनसँग जोडेर बुझाउने यो संस्थाले जीएमडीए सुरु गरेको हो ।
यसको मुख्य उद्देश्य गणितलाई केवल अंक र सूत्रको सीमामा नबाँधी विचार र संवादको अन्तर्राष्ट्रिय भाषाका रूपमा स्थापित गर्नु हो ।
‘ग्लोबल म्याथ डिबेट लिग’ले गणितलाई विचार, तर्क र कुराकानीको माध्यम बनाउने प्रयास गर्छ । यो कार्यक्रमले विद्यार्थीहरूलाई गणितलाई समस्या समाधानको मात्र उपकरण नभई आफ्ना विचार व्यक्त गर्ने र सिर्जनशीलता प्रदर्शन गर्ने माध्यमका रूपमा प्रयोग गर्न प्रेरित गर्छ ।
यस वर्ष जीएमडीएलले नेपालभरका विद्यालयका ५ हजारभन्दा बढी विद्यार्थीहरूलाई तीन चरण (स्क्रिनिङ राउन्ड, क्षेत्रीय छनोट र राष्ट्रिय फाइनल राउन्ड)मा संरचित प्रतियोगितामा सहभागी गराउँदैछ ।
यो प्रतियोगिताले विद्यार्थीहरूलाई सहकार्य, रचनात्मकता र आलोचनात्मक सोचमा जोड दिने कलेजले जनाएको छ ।
यस प्रक्रियाबाट उनीहरूले आफ्नो विश्लेषणात्मक क्षमता, सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास र गणितको व्यावहारिक उपयोगबारे विस्तृत बुझाइ विकसित गर्छन् ।
गणित र संवादको कलालाई जोडेर, ‘ग्लोबल म्याथ डिबेट लिग’ले नयाँ पुस्तालाई विश्लेषणात्मक रूपमा सोच्ने र प्रभावकारी रूपमा अभिव्यक्त हुन सक्षम नेतृत्वकर्ताका रूपमा सशक्त बनाउँछ ।
यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक आधार बलियो बनाउनुका साथै गणितलाई रचनात्मकता, नवप्रवर्तन र नेतृत्वको माध्यमका रूपमा मनाउँछ ।
सन् २०१२ मा स्थापना भएको अनम्याथ स्कुल एक अग्रणी शैक्षिक संस्था हो, जसले विद्यालयस्तरमा गणित सिकाउने तरिका रूपान्तरण गर्दै आएको छ । यसको विस्तारित रूप एम्बार्क अनम्याथ हो जसले ‘ग्लोबल म्याथ डिबेट लिग’, ‘म्याथ म्याराथन’ र ‘स्पेस म्याथ’ जस्ता कार्यक्रमहरू मार्फत सबै उमेरका विद्यार्थीहरूलाई गणितप्रति रोचक, अर्थपूर्ण र प्रेरणादायी बनाउने उद्देश्य राखेको छ ।