घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य

चार वर्षभन्दा बढी अवधिको सबैभन्दा ठूलो त्रैमासिक नाफा घटेको रिपोर्ट

बीवाईडीको फ्ल्यागशिप लक्जरी इलेक्ट्रिक सेडान 'हान' । उच्च रेन्ज, शक्तिशाली पर्फर्मेन्स र लक्जरी डिजाइनका कारण चिनियाँ यो ईभी बजारमा निकै लोकप्रिय छ।

काठमाडौं । चिनियाँ विद्युत सवारी निर्माता बीवाईडीले आगामी वर्ष अर्थात् २०२६ मा विदेशमा अधिकतम १६ लाख सवारी बिक्री गर्ने लक्ष्य राखेको छ । 

सिटी ग्रुपले मंगलबार प्रकाशित प्रतिवेदनमा बीवाईडीले २०२५ बाट दोहोरो अंकको उच्च वृद्धिदरका साथ अन्तर्राष्ट्रिय विस्तारमा जोड दिने जनाएको छ ।

सिटीका अनुसार बीवाईडीको २०२६ को विदेशी बिक्री मार्गदर्शन १५ लाखदेखि १६ लाख युनिटसम्म रहेको छ, जुन २०२५ मा चीनबाहिर बिक्री हुने अनुमानित ९ लाखदेखि १० लाख सवारीभन्दा धेरै वृद्धि हो । यो वृद्धिको प्रमुख कारण नयाँ मोडलहरूको बजार प्रवेश हुने बताइएको छ ।

सिटीको प्रतिवेदनअनुसार बीवाईडीको ‘विदेशी बिक्री वितरण विभिन्न क्षेत्रहरूमा सन्तुलित’ रहेको छ । युरोप, उत्तर अमेरिका र एएसईएएन (दक्षिणपूर्वी एसियाली देशहरूको संगठन) देशहरूले २०२५ को कुल विदेशी बिक्रीको करिब एक तिहाइ–एक तिहाइ हिस्सा ओगट्ने अनुमान गरिएको छ ।

बीवाईडीको व्यवस्थापनले चालु वर्षको चौथो त्रैमासिकमा पूँजीखर्च अघिल्लो त्रैमासिकको तुलनामा घट्ने र २०२६ मा अझै ठूलो गिरावट आउने अपेक्षा गरेको छ । प्रतिवेदनका अनुसार, ‘सवारी तथा ब्याट्री उत्पादन क्षमता माग पूरा गर्न पर्याप्त हुने भएकाले पूँजी खर्च घट्ने सम्भावना छ ।

बीवाईडीले यसबारे टिप्पणी गर्न तत्काल प्रतिक्रिया दिएको छैन । सिटीले भने बीवाईडीको २०२६ को कुल बिक्री लक्ष्य खुलाएको छैन । यसअघि बीवाईडीले घरेलु बजारमा बिक्री घटेपछि २०२५ को लक्ष्य १६ प्रतिशत घटाएर ४६ लाख युनिटमा झारेको थियो ।

गत महिना मात्रै बीवाईडीले चार वर्षभन्दा बढी अवधिको सबैभन्दा ठूलो त्रैमासिक नाफा घटेको रिपोर्ट गरेको थियो । यस वर्ष हालसम्म कम्पनीले आफ्ना कुल सवारीमध्ये करिब २० प्रतिशत विदेशमा पठाइसकेको छ, जुन २०२४ को तुलनामा दोब्बर हो ।

बीवाईडीलाई अहिले चीनकै स्थानीय प्रतिस्पर्धी कम्पनीहरू जस्तै जीली र लिपमोटरसँगको प्रतिस्पर्धामा थप दबाब परेको छ, विशेष गरी सस्तो गाडी बजारमा।

पछिल्ला पाँच वर्षमा बीवाईडीले चीनभित्र कम्तीमा आठवटा मेगा कारखाना निर्माण गरिसकेको छ । 

साथै कम्पनीले हङ्गेरी र ब्राजिललगायत देशहरूमा स्थानीय एसेम्ब्लीका लागि विदेशी कारखाना निर्माण गर्दै आएको छ र युरोपका लागि तेस्रो कारखाना स्थापनाको तयारीमा स्पेनलाई शीर्ष विकल्पका रूपमा राखेको समाचार रोयटर्सले पहिले नै जनाएको छ ।

पोर्शेमा आएको संकटले शीर्ष सेयरधनीको नाफा धराशायी

दक्षिणपूर्वी एसियामा होन्डाको वर्चस्व धरापमा, ठूलो चुनौती चीनका ईभी निर्माता
 

Share News