२५४४ बिन्दुमा नेप्से, ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० अंकले घटेर २५४४ बिन्दुमा झरेको हो ।

नेप्सेका अनुसार ४९ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बुधबार ३२१ कम्पनीको ८४ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चरको भएको छ । एनआरएनको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, राधी विद्युत कम्पनीको २२ करोड, साहस उर्जाको १४ करोड, युनियन हाइड्रोपावरको १३ करोड र शिवम् सिमेन्टको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भुगोल इनर्जी र सागर डिस्टीलरीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी बुंगल हाइड्रो र बन्दिपुर केबलकारको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

बुधबारको कारोबारमा उत्पादन बाहेक सबै समूहका सूचक घटेका छन् । उत्पादन समूह ०.२३ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार समूह सबैभन्दा धेरै २.३५ प्रतिशत घटेको छ । बैंकिङ ०.६७, विकास बैंक ०.३०, फाइनान्स ०.७९, होटल तथा पर्यटन ०.१८, हाइड्रोपावर ०.७०, लगानी ०.९९, जीवन बीमा ०.९९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.५४ र अन्य समूह १.३३ प्रतिशतले घटेको छ ।

 

Share News