काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बनाएको नीतिगत अवरोधका कारण जलविद्युत आयोजनाहरू निर्माणमा समस्या भएको बताएका छन् ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले १० महिनादखि रुख काट्नको लागि वनमा छिर्न नपाइएको गुनासो गरे ।
२०७७ सालमै आयोजना सम्बन्धी वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न भएपनि अहिलेसम्म रुख काट्न र आयोजना क्षेत्रमा प्रवेश गर्न नपाइएको उनको भनाइ छ ।
कार्कीका अनुसार सरकारले उत्पादकहरूसँग निर्धारित समयभित्र बिजुली उत्पादन नगरे सम्झौता रद्द गर्नेगरी सम्झौता गरेको छ । सरकारले तोकिएको समयमा उत्पादन नभए किन्दिनँ भन्ने गरेको भन्दै योजनाअनुसार आफूहरू अघि बढ्न नपाएको उनले बताए ।
अध्यक्ष कार्कीले ऊर्जामन्त्री तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसँग पनि समस्या समाधानका लागि पटक–पटक छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको बताए ।
उनले आरसीयुडीका मुद्दाहरूमा दुई वर्षको समय थप गर्न अनुरोध गरेको पनि तीन वर्षभन्दा बढी भइसकेको बताए ।
सरकार परिवर्तन भइरहँदा नीतिमा पनि अस्थिरता भएकोले लगानीकर्ता अन्योलमा परेको उनको भनाइ छ ।
उनले सरकार परिवर्तन भएपनि नीति परिवर्तन नहुनेगरी स्थायित्व खोज्नुपर्नेमा जोड दिए ।
अध्यक्ष कार्कीले जलविद्युत आयोजनाका लगानीकर्ताले ३०–३५ वर्षको लगानीमा स्थायित्व चाहने उल्लेख गरे ।
हाल नेपाली लगानीकर्ता नै अन्योलमा हुँदा विदेशी लगानीकर्ताले नेपालमा लगानी उनको भनाइ छ ।