गरिमा विकास बैंकले गरिमा रोड रेस आयोजना गर्दै, विजेताले नगद पुरस्कार पाउने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा 'स्वास्थ्यका लागि खेलकुद' भन्ने नाराका साथ गरिमा रोड रेस २०८२ आयोजना गर्न लागेको छ । प्रतियोगिता आगामी मंसिर ६ गते शनिबारका दिन काठमाडौंमा आयोजना हुनेछ ।

गत वर्षदेखि सुरु गरिएको गरिमा रोड रेसको यो दोस्रो संस्करण हो । यस वर्षको प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर तथा नयाँ थपिएको भेट्रान (महिला र पुरुष) तर्फ पनि ५ किलोमिटर दूरीको हुनेछ । भेट्रान विधा यस वर्ष पहिलो पटक समावेश गरिएको हो, जसमा महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष माथिका धावकहरू सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा करिब १ हजार धावकको सहभागिता रहने अपेक्षा बैंकले गरेको छ । खुला विधामा विजेताले जनही ५० हजार रुपैयाँ, दोस्रोले  ३५ हजार रुपैयाँ, तेस्रोले २० हजार रुपैयाँ, चौथोले १५ हजार रुपैयाँ र पाँचौं स्थान प्राप्त गर्नेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, कर्पोरेट र भेट्रान विधाका विजेताले जनही ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ, तेस्रोले १४ हजार रुपैयाँ, चौथोले १० हजार रुपैयाँ र पाँचौं स्थान हासिल गर्नेले ७ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु हुने खुला समूहको दौड बुढानिलकण्ठ नगरपालिका–३ को कार्यालय भवनसम्म पुगेर सोही बाटो हुँदै बालुवाटार फर्किएर सम्पन्न हुनेछ । कर्पोरेट र भेट्रान समूहको दौड पनि सोही स्थानबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पताल पुगेर पुनः बालुवाटारमै समापन हुनेछ ।

प्रतियोगिता व्यवस्थित सञ्चालनका लागि गरिमा विकास बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । इच्छुक धावकहरूले प्रतियोगिताको लागि कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एपमार्फत २० रुपैयाँ शुल्क तिरी दर्ता गर्न सक्नेछन् । थप जानकारीका लागि बैंकको कल सेन्टर ९०१–५९७०१७९० मा सम्पर्क गर्न सकिनेछ ।

गत वर्ष आयोजित गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठसहित ६५० भन्दा बढी धावक सहभागी भएका थिए । यस वर्ष पनि सहभागी संख्या झनै उल्लेख्य हुने विकास बैंकले विश्वास व्यक्त गरेको छ ।

Share News