तालिका थप भएपछि भोजपुर–काठमाडौं अब चार उडान

टक्सार । पहाडी जिल्ला भोजपुरमा नेपाल वायुसेवा निगमले उडान थप गरेको छ । विगतमा हप्तामा दुई उडान मात्र भोजपुर–काठमाडौं हुँदै आएकामा अब चार उडान हुनेछन् ।    

प्राविधिक कारणले केही समयका लागि कटौती गरिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको काठमाडौं–भोजपुर–काठमाडौं उडान तालिका थप भएको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार यही कात्तिक २६ गतेदेखि लागू हुनेगरी अब  मंगलबार, बुधबार, बिहीबार र शनिबार नियमित उडान सञ्चालन गरिनेछ । यसभन्दा अगाडि बिहीबार र शनिबार मात्र उडान हुँदै आइरहेको थियो ।    

मर्मतमा रहेको अर्को जहाज पनि सञ्चालनमा आएसँगै भोजपुरमा पनि उडान थप गरिएको छ । निगमले यात्रुहरूलाई आफ्नो यात्रा सुनिश्चित गर्नका लागि आधिकारिक ‘वेबसाइट’मार्फत ‘अनलाइन टिकट’ खरिद गर्न सकिने व्यवस्थासमेत गर्दै आइरहेको छ ।    

यहाँ यातायातका साधन सञ्चालनमा आएसँगै भोजपुर–विराटनगरको उडान भने बन्द भएको छ । विसं २०३५ मा घाँसेमैदानबाट सुरु भएको उडान अहिले विमानस्थल कालोपत्र भए पनि निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ । उडान कम हुँदा भोजपुरबाट काठमाडौं जाने र आउने यात्रु मारमा पर्दै आइरहेका छन् । 
 

Share News