काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै देशभरका स्थानीय तहमा प्रदर्शन गरेको छ । पार्टीको जनपरिचालन कार्यक्रम अन्तर्गत मंगलबार विभिन्न नगरपालिका र गाउँपालिकामा मोटरसाइकल र्याली, नारा जुलुस र सभाहरूको आयोजना गरिएको एमालेले जनाएको छ ।
एमालेका अनुसार उक्त कार्यक्रमको उद्देश्य जनतामाझ पार्टीको आन्दोलनका एजेन्डा स्पष्ट पार्ने र प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा जनमत सृजना गर्ने रहेको छ । पार्टीका स्थानीय नेताहरूले र्यालीहरूमा सहभागी जनतालाई सम्बोधन गर्दै वर्तमान राजनीतिक अवस्थाको विरोध र लोकतान्त्रिक अभ्यासको रक्षा गर्न सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।
देशका सबै स्थानीय तहहरूमा एकैसाथ आयोजित यी प्रदर्शनहरूमा पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको एमालेका प्रवक्ता राजेन्द्र गौतमले जानकारी दिएका छन् ।