काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीले अबका सबै गतिविधि आगामी २०८२ फाल्गुन २१ गते हुने निर्वाचनलाई केन्द्रविन्दुमा राखेर सञ्चालन गर्नुपर्ने बताएका छन् । उनले वर्तमान राजनीतिक अवस्थाबाट मुलुकलाई संविधानको मूल बाटोमा फर्काउने एक मात्र माध्यम स्वच्छ र निष्पक्ष निर्वाचन रहेको बताएका हुन् ।
गुरुङका अनुसार विषम परिस्थितिजन्य बाध्यताले देशलाई अलिकति सिधा बाटोबाट अलग पारेको छ, तर चुनावले मात्रै नेपालको संविधानलाई फेरि मूल बाटोमा ल्याउन सक्छ । उनले पार्टीका सबै तह केन्द्रीय कार्य समिति, प्रदेश, जिल्ला र वडा समितिसम्म तन, मन र वचनले चुनावको तयारीमा जुट्नुपर्ने आवश्यकता औंल्याए ।
'नेपाली कांग्रेसको अहिलेको मूल लक्ष्य चुनाव, चुनाव र चुनाव नै हुनुपर्छ,' गुरुङले भने । चुनावले मात्र बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रलाई जीवित र चलायमान राख्न सक्छ ।
गुरुङले उम्मेदवार छनोटदेखि समितिहरूको पुनर्गठनसम्म पहिलो पटक अवसर नपाएका युवाहरूलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । उनका अनुसार पार्टीभित्र राजनीतिक न्याय, समान अवसर र व्यवहारिक वितरणको अनुभूति हुनुपर्छ ।
गुरुङले नेपाली कांग्रेसले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनावमा जानुपर्ने बताए । तर राष्ट्रिय सभा, राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा आवश्यकता अनुसार अन्य दलसँग सहकार्य गर्न सकिने सम्भावना खुला राख्नुपर्ने उनको मत छ ।