काठमाडौं । नेपालमा पहिलोपटक विद्युतीय लोडर सार्वजनिक गरिएको छ । पीएसके इन्टरनेशनलले चीनको निर्माण उपकरण निर्माता कम्पनी एसडीएलजीको नयाँ मोडेल एल–९३६एचईभी नेपाली बजारमा भित्र्याएको हो ।
कम्पनीले काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा उक्त लोडर सार्वजनिक गर्दै नेपालमा दिगो निर्माण प्रविधिको नयाँ युग सुरु भएको घोषणा गरेको छ । कम्पनीका प्रतिनिधिहरूका अनुसार यो विद्युतीय लोडरले वातावरणमैत्री, ऊर्जा–सक्षम र लागत–प्रभावकारी समाधान प्रदान गर्नेछ ।
यो लोडरमा प्रयोग गरिएको प्रविधि अत्याधुनिक र सुरक्षित रहेको कम्पनीले जनाएको छ । यसमा १८०.५ किलोवाट घण्टा (५२१ भोल्ट) क्षमताको क्याटिएल लिथियम आइरन फस्फेट ब्याट्री, ६० किलोवाट स्थायी शक्ति र अधिकतम ९० किलोवाट मोटर क्षमता रहेको छ । यस लोडरको बाल्टिन क्षमता १.५ देखि ३ घनमिटरसम्म रहेको छ, जसमा सामान्यतः २.१ घनमिटरको जीपी बाल्टिन प्रयोग हुन्छ ।
एसडीएलजीको यो नयाँ लोडरले परम्परागत डिजेल लोडरको तुलनामा ३६ प्रतिशतसम्म ऊर्जा बचत गर्न सक्ने बताइएको छ । यसमा लगाइएको उर्जा पुनःप्राप्ति प्रणालीले लोडर सञ्चालनका क्रममा व्यर्थ जाने ऊर्जालाई पुनः प्रयोग गर्न सक्षम बनाउँछ । साथै, यो लोडर सञ्चालनमा अत्यन्तै न्यून आवाज निकाल्छ र धुवाँ वा प्रदूषण उत्पन्न नगर्ने भएकाले वातावरणमैत्री छ ।
पीएसके इन्टरनेशनलका प्रबन्ध निर्देशक दुर्गा श्रेष्ठका अनुसार नेपालमा बढ्दो वातावरणीय सचेतना र विद्युतीय प्रविधिप्रतिको आकर्षणलाई ध्यानमा राख्दै कम्पनीले यो प्रविधि भित्र्याएको हो । उनले भने, 'हाम्रो उद्देश्य नेपालका निर्माण कम्पनीहरूलाई स्वच्छ र टिकाउ प्रविधिको प्रयोगमा प्रेरित गर्नु हो ।'
कम्पनीले विद्युतीय लोडरको प्रयोगले इन्धन खर्चमा ठूलो कमी ल्याउने, मर्मत–सम्भार सजिलो हुने र सञ्चालन दक्षता बढाउने विश्वास लिएको छ । एसडीएलजीको यस प्रविधिलाई नेपालका विभिन्न ठूला निर्माण परियोजनाहरूमा प्रयोग गर्न सकिने अनुमान गरिएको छ ।