जीडब्लुएम नेपालले सार्वजनिक गर्‍यो नयाँ ट्याङ्क सिरिज, ४ लाखभन्दा बढी बिक्री भएको मोडेल

काठमाडौं । जीडब्लुएम नेपालले आफ्ना नयाँ मोडेलहरू ट्याङ्क ३०० एचईभी र ट्याङ्क ५०० पीएचईभी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस ट्याङ्क सिरिजले नेपालमा प्रिमियम स्पोर्ट्स युटिलिटी वाहन (एसयूभी) बजारमा नयाँ अध्यायको सुरुवात गरेको छ ।

यी मोडेलहरू लक्जरी, प्रदर्शन र अफ–रोड क्षमताको उत्कृष्ट संयोजनसहित प्रस्तुत गरिएको उल्लेख गरिएको छ । जीडब्लुएम ट्याङ्क सिरिज सन् २०२१ मा चीनको चेङदु अटो प्रदर्शनीमा पहिलोपटक प्रस्तुत गरिएको थियो । त्यसयता यो मोडेल चीन, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्यान्डलगायतका बजारमा अत्यन्त लोकप्रिय बनेको छ । हालसम्म विश्वभर चार लाखभन्दा बढी ट्याङ्क मोडेलहरू बिक्री भइसकेका छन्, जसले अफ–रोड सवारीप्रेमीहरूबीच नयाँ रोजाइको रूपमा स्थान बनाएको छ ।

नेपालमा ट्याङ्क ब्रान्डको प्रवेशले जीडब्लुएमको बजारप्रतिको प्रतिबद्धता मात्र होइन, अफ–रोड संस्कृतिको विस्तारमा नयाँ युगको सुरुवात पनि गरेको कम्पनीले जनाएको छ । अफ–रोड सवारी साधनप्रतिको माग पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढ्दै गएको र यो सेग्मेन्टमा जीडब्लुएमको प्रवेशले प्रतिस्पर्धा अझ रोचक बन्ने बताइएको छ ।

ट्याङ्क मोडेलहरूमा सर्व–भू–भाग चलाउने क्षमता (एडभान्स्ड फोर–ह्विल ड्राइभ प्रणाली) जस्ता सुविधा छन्, जसले ढुंगा, बालुवा, हिलो र हिउँजस्ता सबै भौगोलिक अवस्थाहरूमा सहज रूपमा यात्रा गर्न सहयोग पुर्याउँछ। हाइब्रिड प्रविधिमा आधारित ट्याङ्क ५०० पीएचईभीमा टर्बो चार्ज इञ्जिन र शक्तिशाली विद्युतीय मोटरको संयोजन रहेको छ, जसले तुरुन्त टर्क (घुमाउने शक्ति) र उच्च इन्धन दक्षता प्रदान गर्छ ।

यसमा लक्जरी भित्री डिजाइन (इन्टेरियर) अपनाइएको छ, जहाँ उच्च गुणस्तरका सामग्री, ठूला डिजिटल पर्दा र बुद्धिमान (स्मार्ट) प्रणालीहरूको संयोजनले सवारी अनुभवलाई नयाँ स्तरमा पुर्याउँछ । स्मार्ट सुरक्षा प्रणालीहरू जस्तै स्वचालित सहायक सवारी नियन्त्रण (एडीएएस), ३६० डिग्री क्यामेरा र बुद्धिमान ड्राइभ सहायक प्रविधिले सडक वा अफ–रोड दुवै अवस्थामा सुरक्षित यात्रा सुनिश्चित गर्छ।

जीडब्लुएमको 'शक्ति र उद्देश्य' भन्ने दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बलियो र आकर्षक बाहिरी रूप (डिजाइन) ले यी मोडेलहरूलाई अझ विशिष्ट बनाएको छ । नेपालमा उपलब्ध ट्याङ्क ३०० एचईभी र ट्याङ्क ५०० पीएचईभीमा २.० लिटर टर्बो पेट्रोल इञ्जिन, नौं गियर भएको स्वचालित गियर प्रणाली (हाइ–फोर–ट्रान्समिसन) प्रयोग गरिएको छ ।

यी मोडेलहरूले क्रमशः ३५१ अश्वशक्ति र ६४८ न्यूटन–मिटर टर्क (एचईभी) तथा ४०८ अश्वशक्ति र ७५० न्यूटन–मिटर टर्क (पीएचईभी) प्रदान गर्छन् । कम्पनीका अनुसार यी सवारी साधनहरू शहरदेखि राजमार्ग र दुर्गम अफ–रोड यात्रासम्म सबैका लागि उपयुक्त, शक्तिशाली र विश्वसनीय छन् ।

Share News