काठमाडौं । पर्यटन व्यवसायीका रूपमा परिचित कर्मा तेञ्जिङ एकपछि अर्को ठूलो होटल परियोजनामा प्रवेश गरेका छन् । यसअघि काठमाडौंको महाराजगञ्जमा पाँचतारे होटल मेरिडियन र अपार्टमेन्ट बनाउने घोषणा गरेका उनले ठमेलमा थप नयाँ परियोजना निर्माणको काम अगाडि बढाएका हुन् ।
तञ्जिङको स्वामित्व रहेको मनाङ हस्पिटालिटी प्रालिले ‘फोर प्वाइन्ट्स बाई शेराटन’ ब्रान्डअन्तर्गत पाँचतारे होटल पुन:निर्माण गर्न लागेको हो । कम्पनीले ठमेलकै पुरानो होटल वैशालीको जग्गा र भवन खरिद गरेर पुन:निर्माण गरी पाँच तारे होटल निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।
कम्पनीले म्यारियट इन्टरनेशनललाई होटलको व्यवस्थापन दिने उल्लेख गरेको छ । कम्पनीले कुल २ अर्ब ६७ करोड ७० लाख लागतमा होटल पुन:निर्माण गर्न लागेको हो । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी रहनेछ ।
निर्माण हुन लागेको यो होटलमा सबैभन्दा धेरै शेयर मनाङ हस्पिटालिटीका अध्यक्ष तेन्जिङको रहेको छ । उनको यो होटलमा ६३ प्रतिशत सेयर स्वामित्व रहेको छ । कर्मा तेन्जिङ कर्मा ग्रुपका अध्यक्षसमेत हुन् ।
उनको घरजग्गा, शिक्षा र हस्पिटालिटी लगायत क्षेत्रमा लगानी रहेको छ । तेन्जिङ अर्थशास्त्रमा विद्यावारिधि गरेका एक अनुभवी व्यवसायी हुन् ।
कम्पनीले होटलको पुन: निर्माण गरे सन् २०२७ मा आंशिक र २०२८ मा पूर्ण व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।
कम्पनीले बैंकबाट दीर्घकालिन २ अर्ब र अल्पकालीन अवधिको लागि ३ करोड गरी कुल २ अर्ब ३ करोड रुपैयाँको कर्जाका लागि रेटिङ पनि गराएको छ । जसका लागि दीर्घकालीन ऋणका लागि बी प्लस र अल्पकालीन ऋणका लागि ए फोर रेटिङ प्राप्त गरेको छ ।
हाल यो योजना पुन:निर्माणको प्रारम्भिक चरणमा रहेको छ । होटल वैशालीका कार्यकारी निर्देशक विशाल कुमार कैथले भने होटलको जग्गा खरिद गर्ने विषयमा अहिले मनाङ हस्पिटालिटीसँग फण्डको विषयमा कुरा भइरहेको र एक महिनाभित्र सम्झाैता फाइनल हुने जानकारी दिए ।
कर्माले काठमाडौंको महाराजगञ्जमा पनि ४ अर्ब २ करोड रुपैयाँ लागतमा मेरिडियन होटलको निर्माणको प्रक्रिया अगाडि बढाएका हुन् । मेरिडियन पनि पाँचतारे होटल हो ।
लक्जरी होटेल म्यानेजमेन्ट (बीभीआई)ले व्यवस्थापन गर्ने सो पाँचतारे होटलमा १७० कोठा हुने बताइएको छ । कम्पनीले होटल निर्माणका लागि कुल लागतको ७३ प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको थियो । २७ प्रतिशत स्वपूँजीमा होटल निर्माण हुने उल्लेख छ । कर्मा हस्पिटालिटीको कुल चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको रेटिङमा उल्लेख छ ।
होटलसँगै तेञ्जिङले अपार्टमेन्ट पनि बनाउँदैछन् । होटल र अपार्टमेन्टको कुल लागत भने ६ अर्ब हुने बताइएको छ । कर्मा र उनको टीमले महाराजगञ्जमा १६२ युनिटको कर्मा रेसिडेन्सी अपार्टमेन्ट बनाउने तयारी थालेका हो । कर्माको पुर्ख्यौली थलो मनाङ हो । यसअघि अमेरिकामा रहेका उनी नेपालमै फर्किएर व्यवसायमा जमिरहेका छन् । उनी हिमाल आरोहीका रूपमा पनि परिचित छन् ।
सम्बन्धित सामग्री :
कर्मा तेञ्जिङले महाराजगञ्जमा ४ अर्ब लगानीमा पाँचतारे होटल बनाउँदै, ३ अर्ब ऋण