दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट, ८ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन नजिकै सोमबार साँझ भएको विस्फोटमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य ७ जना सख्त घाइते भएका छन् । 

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याई पुर्याउँदा ८ जनाको मृत्यु भइसकेको र अन्य ७ जनाको उपचार भइरहेको जानकारी दिए । 

दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । उनले भने, ‘अहिलेसम्म, म तपाईंलाई केही भन्न सक्दिन। घटनाबारे अनुसन्धान भइरहेको छ ।’

घटनास्थलमा पुगेका डीआइजी सिआरपिएफले तत्काल केही भन्न हतार हुने बताए । अग्नि नियन्त्रण कार्यालयका उप प्रमुख एके मलिकले चाँदनी चोक मेट्रो स्टेसन नजिकै एउटा कारमा विस्फोट भएको जानकारी प्राप्त भएको बताए । 

‘हामीले घटना लगत्तै प्रतिक्रिया दियौँ र ७ युनिटहरू घटनास्थलमा पठाइयो । विस्फोटपछि लागेको आगो साँझ ७:३० सम्ममा नियन्त्रणमा आएको छ । यसमा हाताहाती हुने सम्भावना रहेको छ । हाम्रा सबै टोली घटनास्थलमा उपस्थित छन्,’ उनले भने । 

प्रत्यक्षदर्शीले केही व्यक्तिको मृत्यु भएको बताएका छन् । एक स्थानीयले एएनआईलाई भने, ‘जब हामीले सडकमा कसैको हात देख्यौँ, हामी पूर्ण रूपमा स्तब्ध भयौँ । म यसलाई शब्दमा व्याख्या गर्न सक्दिनँ ।’

अर्का प्रत्यक्षदर्शीले भने, ‘जब हामी घटनास्थल नजिक पुग्यौँ, हामीले सडकमा शरीरका अङ्गहरू छरिएको देख्यौँ। के भयो कसैले पनि बुझ्न सकेनन् । धेरै कारहरू क्षतिग्रस्त भएका छन् ।’ 

एक स्थानीय पसलेले एएनआईलाई बताए अनुसार उनले आफ्नो जीवनमा यति ठूलो विस्फोट कहिल्यै सुनेका थिएनन् ।

उनले भने, ‘विष्फोटका कारण म तीन पटक लडेँ । यस्तो लाग्यो कि हामी सबै मृत्युको मुखमा गइरहेका छौँ । घटनामा धेरै कारहरू क्षतिग्रस्त भएका छन् ।’

एलएनजेपी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले घाइतेमध्ये एक जनाको अवस्था स्थिर रहेको बताएका छन् ।

उनले भने, ‘१५ जनालाई लोक नायक अस्पतालमा ल्याइएको छ । तीमध्ये ८ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको थियो । ३ जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था स्थिर रहेको छ।’

Share News