काठमाडौं । नगरकोट रिसोर्ट लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ ।
गत आर्थिक वर्षमा रिसोर्टले ४ करोड ८५ लाख रुपैयाँ कारोबार गर्दै ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ । हाल रिसोर्टले २४ कोठाबाट सेवा प्रदान गर्दै आएको छ भने दोस्रो चरण अन्तर्गत नयाँ भवन, स्पा र सम्मेलन कक्ष निर्माण कार्य तीव्र गतिमा अघि बढाइरहेको छ ।
अध्यक्ष क्षेत्रीले कम्पनीले छोटो अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको र नगरकोट रिसोर्टलाई नेपालको अग्रणी पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । रिसोर्टले दीगो पर्यटन, स्थानीय सहकार्य र उच्चस्तरीय आतिथ्य विस्तारलाई आगामी वर्षको प्राथमिकतामा राखेको जानकारी दिइयो ।
कम्पनीले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्ने तयारी गरिरहेको छ र यसका लागि केयर रेटिङ नेपाल लिमिटेडबाट 'बीबी' रेटिङ प्राप्त गरिसकेको छ ।