देशभरका १९७ सडक ठेक्का रुग्ण

काठमाडौं । देशभरका विभिन्न सडक आयोजनाहरूमा निर्माण व्यवसायीको कारण ठप्प भएका १९७ ठेक्का रुग्ण बनेका छन् । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र त्यसअन्तर्गतका सडक डिभिजन तथा आयोजना निर्देशनालयहरूले १९७ रुग्ण ठेक्काको सूचना सार्वजनिक गरेका छन् । 

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौं, सुर्खेत, पोखरा, इटहरीलगायतका कार्यालयहरूले असोजदेखि कार्तिक महिनासम्मका विभिन्न मितिमा यी सूचनाहरू सार्वजनिक गरेका हुन् । 

सूचनाअनुसार सडक डिभिजन चन्द्रनिगाहपुर, जनकपुर, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, हेटौंडा, काठमाडौं, लहान, दमौली, प्युठान, जुम्ला लगायतका कार्यालयहरूमा निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगरेकाले ठेक्का रुग्ण घोषित भएका हुन् । 

सबैभन्दा धेरै रुग्ण ठेक्का सडक डिभिजन काठमाडौं, जनकपुर, सुर्खेत र बुटवलमा रहेको बताइएको छ । ठेक्का रुग्ण भएपछि ती आयोजनाहरू पुनःसम्झौता वा पुनःठेक्काको प्रक्रियामा लैजाने तयारी भइरहेको जनाएको छ । 

पुष्पलाल (मध्यपहाडी) राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्गजस्ता राष्ट्रिय महत्त्वका आयोजनाहरूमा समेत ठेक्का अलपत्र परेका छन् । 

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका अनुसार समयमै काम नसक्ने निर्माण व्यवसायीमाथि कानुनी कारबाही र ब्ल्याकलिस्टको प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।

रुग्ण ठेक्काको यो संख्या हालसम्मकै ठूलो रहेको जनाइएको छ । जसले देशका पूर्वाधार विकास योजनामा गम्भीर चुनौती निम्त्याएको छ ।

null

Share News