काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर, किर्तिपुरमा विभिन्न संघ–संगठनको नाममा केही व्यक्तिहरूले निर्माण व्यवसायीहरूलाई डर, त्रास देखाउँदै निर्माण कार्यमा अवरोध सिर्जना गरेको विषयमा कीर्तिपुर निर्माण व्यवसायी संघले आपत्ति जनाएको छ ।
संघले सोमबार बिहान त्रिविका उपकुलपति प्राडा दीपक अर्याललाई ज्ञापन पत्र बुझाउँदै त्रिवि रजिष्ट्रारको कार्यालयद्वारा आह्वान गरिएको बोलपत्र अनुसार चमेना गृह भवनको निर्माण कार्य भइरहँदा विभिन्न समूहबाट अवरोध सिर्जना गरिएको बताएको हो ।
ज्ञापन पत्रमा संघले निर्माण व्यवसायीहरूलाई डर र त्रास देखाई निर्माण कार्यमा बाधा पुर्याउने व्यक्तिहरूलाई तत्काल कडा कारबाही गर्न माग गर्दै निर्माण कार्य सहज रूपमा सञ्चालन हुन सक्ने वातावरण बनाउनुपर्ने बताएको छ ।
'त्रिवि स्थापनाकालदेखि योगदान गरेका कीर्तिपुरवासीलाई हरेक संरचना निर्माणमा पहिलो प्राथमिकतामा राख्ने विगतको सम्झौता कार्यान्वयन गरिनुपर्छ, ' ज्ञापन पत्रमा भनिएको छ ।
संघले आफ्नो मागको सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।