चितवन राइनोजको कनेक्टिभिटी पार्टनर बन्यो भायानेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टिम चितवन राइनोजको आधिकारिक कनेक्टिभिटी पार्टनर बनेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भायानेटका वाणिज्य तथा बजार व्यवस्थापन विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख सञ्चालन अधिकृत डा. आशिष खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता मानिने नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ देखि मंसिर २७ (नोभेम्बर १७ देखि डिसेम्बर १३, २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् ।

सम्झौता समारोहमा भायानेटका उपाध्यक्ष शहिन श्रेष्ठले खेलकुदप्रति कम्पनीको प्रतिबद्धता व्यक्त गर्दै भने, 'हामी खेलकुदसँग सुरुदेखिनै जोडिएका छौं । खेलमा हाम्रो लगानी व्यवसायिक भन्दा बढी सामाजिक जिम्मेवारीको कुरा हो । यो हाम्रो समाज र नयाँ पुस्तामा लगानी हो, जसले देशभित्र सकारात्मक ऊर्जा फैलाउन मद्दत गर्छ । इन्टरनेट जस्तै खेलले पनि मानिसहरूलाई नजिक ल्याउँछ र सम्बन्ध बलियो बनाउँछ। यही कारण हामी खेल क्षेत्रलाई निरन्तर साथ दिइरहेका छौं ।'

भायानेटले स्थापना कालदेखि नै खेलकुदलाई सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा बनाउँदै आएको छ । यसअघि कम्पनीले अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र कर्पोरेट क्रिकेट लिग दुबैको शीर्ष प्रायोजक बनेको थियो । साथै, चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड दूत घोषणा गर्दै ‘साम्बा प्याक’ पनि सार्वजनिक गरेको थियो ।

चितवन राइनोजसँगको यस सहकार्यका माध्यमबाट भायानेटले खेलाडीको मनोबल वृद्धि गर्ने, दर्शकको भावना जोड्ने र देशभरका खेलप्रेमीहरूलाई एकै मञ्चमा ल्याउने सेतुको रूपमा काम गर्ने विश्वास व्यक्त गरेको छ ।

Share News