काठमाडौं । नेपालगन्जस्थित राँझा विमानस्थलको सुविधा युक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा २ महिना पहिले नै निर्माण सम्पन्न भएको छ । वि.सं २०७९ पुसबाट काम सुरू गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी ३ वर्षको समयावधि पाएकामा २ महिना अगाडि नै निर्माण पूरा गरेको राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिए ।
आयोजनाको काम सम्पन्न भएसँगै केही दिनभित्रमा निर्माण पक्षबाट हस्तान्तरण हुने र त्यसपछि पनि नागरिक उड्डयन प्राधिकरणको विज्ञ टोलीबाट स्थलगत अनुगमन गरिने उनले बताए ।
आयोजना प्रमुख थापाले भने, ‘विज्ञले अनुगमन गरे पश्चात् पुरानो टर्मिनल भवनमा रहेको एक्सरे मेसिनलगायत आवश्यक सामान नयाँमा सारेर अबको १५ दिनभित्रमा नयाँ बाट सेवा सुरु हुनेछ । नेपालगन्जमा निर्मित टर्मिनल भवन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएकोले आन्तरिक र बाह्य दुबै उडानका लागि उपयुक्त रहेको छ ।’
उनका अनुसार, भ्याट बाहेक कूल २ अर्ब ७४ करोड २० लाख १८ हजार ९९३ रुपैयाँ लागतमा निर्माण कम्पनीले टर्मिनल भवन निर्माण गरेको हो । नव निर्मित टर्मिनल भवन सेमी बेसमेन्टसहित ३ तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ । जहाँ कुल २४ वटा पसल रहनेछन् ।
५ हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको टर्मिनल भवनभित्र यात्रु जाँच कक्ष १४, भिआइपी रूम ३, चिल्ड्रेन प्लेइङ एरिया एउटा, भन्सार र क्वारेन्टाइन जाँचका लागि अलग÷अलग कोठा निर्माण गरिएका छन् ।
भविष्यमा अन्तर्राष्ट्रिय उडान हुने सम्भावनालाई दृष्टिगत गर्दै घरेलु र अन्तरराष्ट्रिय उडानका लागि अलग-अलग यात्रु प्रस्थान र आवागमन ढोका तयार गरिएको छ । नव निर्मित टर्मिनल भवनको यात्रु क्षमताप्रति घण्टा ६२८ छ ।
नयाँ टर्मिनल भवनभित्र बगैँचाका साथै ५ देखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको परिसरमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको विकास गरिएको छ ।
नयाँ टर्मिनल भवन क्षेत्रमा एप्रोन अर्थात् जहाज पार्किङ गर्ने ठाउँ पनि निर्माण गरिएको छ । जसमा एटिआर-७२ जहाज ३ वटा र ट्विअटर जहाज ५ वटा एकै पटकमा पार्किङ गर्न मिल्ने सुविधा रहेको आयोजना प्रमुख थापाको भनाइ छ ।