काठमाडौं । नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सार तनहुँले २० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालय स्थापनादेखि हालसम्म नयाँ सहर आयोजनाभित्र २०.३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो ।
कार्यालयले ३४.७८ किलोमिटर सडक ग्राभेल, २.७४ किलोमिटर ढलान, ४६.०२ किलोमिटर नाला निर्माण गरेको कार्यालय प्रमुख शान्ति शर्माले जानकारी दिए ।
आन्तरिक बसाइसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरी १० नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरुप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साविकको भानु गाविस-१, २, ३, ४ र साविकको बन्दीपुर गाविस-१, २, ३ र ४ समेटी आर्थिक वर्ष २०७२/७३ बाट नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरुवात भएको हो ।
शर्माका अनुसार गत आर्थिक वर्षमा १.५ किलोमिटर ढलान र १.४ किलोमिटर नाला निर्माण गरिएको छ । सडक ग्राभेल र सडक कालोपत्रको काम उक्त आर्थिक वर्षमा नभएको उनले बताए ।
आर्थिक वर्ष २०८०/८१ मा ०.७८ किलोमिटर सडक ग्राभेल, १.२४ किलोमिटर ढलान, १.६ किलोमिटर कालोपत्र र ३.६२ किलोमिटर नाला निर्माण भएको जनाइएको छ ।
यस्तै आयोजना सुरुभएदेखि आर्थिक वर्ष २०७९/८० सम्म ३४ किलोमिटर सडक ग्राभेल, १८.७ किलोमिटर सडक कालोपत्र र ४१ किलोमिटर नाला निर्माण भएको जनाइएको छ ।
आयोजनाले गत आर्थिक वर्षमा १ सरकारी कार्यालय भवन, ३ सामुदायिक भवन, १ सरकारी भवन मर्मत सम्भार, १ खेल मैदान, २ मनोरञ्जन पार्क, १ खानेपानी योजना सम्पन्न गरेको छ भने ४३४ सौर्य बत्ती जडान गरेको छ ।
आयोजनालाई गत आर्थिक वर्षमा चालुतर्फ १ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन भएकामा ७५ लाख रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ ११ करोड ७७ लाख रुपैयाँ विनियोजन भएकामा ४ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ ।
कार्यालयले डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया सुरु गरेको छ । त्यसका लागि ६४३ रोपनी जग्गा पहिचान गरिएको छ । त्यसका लागि विसं २०७४ पुस १० गते आयोजनाको चारकिल्लासहित नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो । विसं २०७७ पुस १२ मा अन्तिम प्रतिवेदन बुझाइएको र बाटोको किल्ला तोक्ने कार्य सकिएको छ ।