काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा आधा दर्जन वाणिज्य बैंकको २० अर्ब रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्याङ्क अनुसार असोज मसान्तसम्म ७ बैंकको वितरणयोग्य नाफा १९ अर्ब ९८ करोड ३३ लाख १२ हजार रुपैयाँ ऋणात्मक छ । गत वर्षको असोजसम्ममा विभिन्न ५ बैंकको १२ अर्ब ५४ करोड १ लाख ५६ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक थियो ।
असोज मसान्तसम्ममा सबैभन्दा धेरै हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । हिमालयन बैंकको ७ अर्ब ५४ करोड ६४ लाख ८७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । जबकि गत वर्षको असोजमा हिमालयनको ३ अर्ब ४८ करोड ४४ लाख ३७ हजार रुपैयाँ मात्रै वितरणयोग्य नाफा ऋणात्मक थियो ।
समीक्षा अवधिमा एनआईसी एशिया बैंकको ६ अर्ब २४ करोड ८२ लाख १३ हजार रुपैयाँ, नेपाल बैंकको ५७ करोड १ लाख ९२ हजार रुपैयाँ, कुमारी बैंकको ३ अर्ब ९१ करोड ९९ लाख २० हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को १ अर्ब १६ करोड ९४ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
गत वर्षको असोजमा एनआईसी एशियाको २ अर्ब २१ करोड ४० लाख ८७ हजार रुपैयाँ, नेपाल बैंकको १ अर्ब २६ लाख ८२ हजार रुपैयाँ, कुमारीको ३ अर्ब ३२ करोड ८४ लाख २४ हजार रुपैयाँ र एनआईएमबिको २ अर्ब ५१ करोड ५ लाख २६ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक थियो ।
गत वर्ष नाफामा रहेका माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकको वितरणयोग्य नाफा यसपटक भने ऋणात्मक रहेको देखिन्छ । असोजसम्ममा माछापुच्छ्रेको ११ करोड ४२ लाख ८२ हजार रुपैयाँ र सिटिजन्सको ४१ करोड ४७ लाख ७८ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।
यी बैंकको वितरणयोग्य नाफा धनात्मक
चालु आवको असोजसम्ममा १३ वटा बैंकको वितरणयोग्य नाफा धनात्मक रहेको छ । यसअवधिमा सबैभन्दा धेरै प्रभु बैंकको वितरणयोग्य नाफा बढेको देखिन्छ । प्रभुको १ हजार ६९ प्रतिशत बढेर ४० करोड ६० लाख ८४ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । जबकि गत वर्षको असोजमा यस बैंकको वितरणयोग्य नाफा २ करोड ४७ लाख १५ हजार रुपैयाँ मात्रै थियो ।
यस्तै, सिद्धार्थ बैंकको ५११.२९ प्रतिशत बढेर १ अर्ब ६१ करोड ६१ लाख ९६ हजार रुपैयाँ, कृषि विकास बैंकको ३७४.१७ प्रतिशत बढेर २४८४७३६ हजार रुपैयाँ, एभरेष्ट बैंकको १५५.२४ प्रतिशत बढेर ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १५३ प्रतिशत बढेर ४ अर्ब ८४ करोड ९५ लाख ६ हजार रुपैयाँ, एनएमबि बैंकको ८१.१६ प्रतिशत बढेर १ अर्ब ९४ करोड ३३ लाख १८ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको तथ्याङ्क छ ।
यस्तै, लक्ष्मी सनराइज बैंकको ७५.९८ प्रतिशत बढेर २ अर्ब ६२ करोड ३७ करोड ७९ हजार रुपैयाँ, सानिमा बैंकको २४.३१ प्रतिशत बढेर २ अर्ब १३ करोड ४ लाख ४८ हजार रुपैयाँ, नबिल बैंकको १३.१४ प्रतिशत बढेर ५ अर्ब ६३ करोड ५२ लाख ९८ हजार रुपैयाँ, प्राइम बैंकको ११.४८ प्रतिशत बढेर ३ अर्ब ४ करोड ४६ लाख ९ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।
समीक्षा अवधिमा वितरणयोग्य नाफा धनात्मक भएपछि विभिन्न ३ वटा बैंकको भने गत वर्षको असोजको तुलनामा घटेको देखिन्छ । राष्ट्रिय वाणिज्य बैंकको ४.४२ प्रतिशत घटेर २१ करोड ४७ लाख २५ हजार रुपैयाँ, नेपाल एसबीआई बैंकको १९.२१ प्रतिशत घटेर १ अर्ब ५० करोड ९८ लाख ८४ हजार रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको २४.५० प्रतिशत घटेर २ अर्ब ४१ करोड १० लाख ४८ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको देखिन्छ ।
